काठमाडौँ । जापानका लागि नेपालका प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले राजदूत पदको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्। 

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले समितिलाई सम्बोधन गरी पठाएको पत्र पढेर सुनाउँदै उनले औपचारिक रूपमा नाम फिर्ता लिएको जानकारी गराएका हुन्।

ad

गत असोज २८ गते उनको संसदीय सुनुवाइ भएको थियो, सोही क्रममा समिति सदस्यहरूले जापानमा राजदूत भएर जाँदा उनको व्यक्तिगत व्यवसाय र पदीय जिम्मेवारीबिच स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्टरेस्ट) गम्भीर प्रश्न उठाएका थिए। 

चौतर्फी प्रश्न र नैतिक दबाब बढ्दै गएपछि थापाले आफैँ पत्र पठाएर प्रक्रियाबाट पछि हट्ने निर्णय गरेका हुन्। समिति सभापति श्रेष्ठले विषम परिस्थितिमा पनि उच्च राजनीतिक तथा पदीय नैतिकता प्रदर्शन गर्दै नाम फिर्ता लिएको भन्दै प्रस्तावित राजदूत थापाप्रति समितिका तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।