
काठमाडौँ । भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको काममा सुस्ती देखिएको भन्दै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अब कुनै पनि बाहनामा ढिलासुस्ती गर्न नहुने स्पष्ट निर्देशन दिएकी छन्।
जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र भूमि शाखाका कर्मचारीहरूसँगको अन्तरक्रियामा मन्त्री रावलले हालसम्मको प्रगति सन्तोषजनक नरहेको गुनासो गरिन्। हजारौँको सङ्ख्यामा पुर्जा वितरण भइसक्नुपर्ने बेलामा अपेक्षित उपलब्धि नदेखिएको उनको भनाइ थियो।
सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक नीतिगत सुधारसमेत गरिसकेको उल्लेख गर्दै मन्त्री रावलले कानुनी जटिलताको सातो फेर्दै अब परिणाममुखी काम गर्न ताकेता गरिन्। सरकार यो समस्या स्थायी रूपमा समाधान गर्न दिनगन्ती गरेर लागेको बताउँदै उनले प्रशासनिक अल्झन देखाएर जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको प्रस्ट्याइन्।
सो कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्यहरू प्रकाश पाठक, शम्भु सुस्केरा ढकाल र रमेश प्रसाईंले पनि जनताको गुम्दै गएको विश्वास फर्काउन राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले हातेमालो गरेर इमानदारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा हालसम्म भएका प्रगतिबारे जानकारी गराउँदै थप जनशक्तिसहित फिल्डमा टोली परिचालन भइसकेकाले अब कामको स्पष्ट परिणाम देखिने प्रतिबद्धता जनाए।
जिल्ला नापी कार्यालय झापाका प्रमुख तथा समितिका सदस्य सचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लामा जग्गा प्राप्तिका लागि ६० हजार २०० भन्दा बढीले आवेदन दिएका छन् भने नयाँ समिति गठन भएपछि हालसम्म ७४ जनालाई मात्र जग्गाधनी पुर्जा वितरण गरिएको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले पनि आआफ्नो पालिकाको वस्तुस्थिति र आगामी कार्ययोजनाबारे जानकारी गराएका छन्।









Facebook Comments