
काठमाडौँ । बहुदलदेखि गणतन्त्रसम्मका हरेक सत्ता समीकरणमा मन्त्री र उपप्रधानमन्त्री बन्दै ‘चतुर खेलाडी’ को छवि बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अहिले पार्टी कमजोर भएको भन्दै नेतृत्वमाथि चर्को प्रश्न उठाएका छन्।
महोत्तरीमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै थापाले पार्टी केन्द्रीय नेतृत्वकै गल्तीका कारण जनताको भरोसा टुट्दै गएको दाबी गरेका छन्। हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर चुनाव जितेपछि गणतन्त्रका मुख्य संवाहक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनु नै पार्टीको सबैभन्दा ठुलो भुल भएको उनको ठहर छ।
३६ वर्षको राजनीतिक इतिहास बोकेको राप्रपा सांगठनिक रूपमा अत्यन्तै दयनीय अवस्थामा पुगेको र स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कार्यकर्तामा उम्मेदवार बन्ने उत्साहसमेत नमरेको उनको चिन्ता छ।
तर, थापाको यो अभिव्यक्ति बाहिरिनबित्तिकै राप्रपाभित्र तीव्र प्रतिवाद र विवाद सुरु भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कमल थापाकै मुखबाट यस्तो कुरा सुन्नु हास्यास्पद भएको बताउँदै विगतमा ३७ सिट भएको पार्टीलाई आफ्नै अदूरदर्शी निर्णयका कारण एक सिटमा सीमित बनाएको आरोप लगाएका छन्।
२०७२, २०७३ र २०७४ सालमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वका सरकारमा मन्त्री र उपप्रधानमन्त्री बनेर लाभ लिने थापाले नै पार्टीलाई कमजोर पारेको श्रेष्ठको जिकिर छ।
वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भने १ सिटमा खुम्चिएको पार्टीलाई बढाएर १४ सिट पुर्याइएको दाबी गर्दै उनले महाधिवेशन र स्थानीय चुनाव नजिकिँदै गर्दा अनावश्यक खिसिट्युरी नगर्न आग्रह गरेका छन्।
पार्टीभित्र आन्तरिक कलह र असन्तुष्टि बढिरहेका बेला राप्रपाका पूर्वअध्यक्षद्वय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरू अहिले जिल्ला भ्रमणको अभियानमा निस्किएका छन्।
कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु भएको यो टोली मधेश हुँदै झापा पुगेर समापन हुने कार्यतालिका छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पञ्चायतकालदेखि गणतन्त्रसम्म कहिल्यै सत्ताको केन्द्रबाट बाहिर नभएका कमल थापाको यो नयाँ असन्तुष्टि र नेतृत्वप्रतिको हमलाले आगामी महाधिवेशनअघि राप्रपाभित्र आन्तरिक ध्रुवीकरण थप गहिरिने संकेत देखाएको छ।









Facebook Comments