काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच जलवायु वित्त परिचालन तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीका विषयमा छलफल भएको छ।

दुई मन्त्रीबीच भएको भेटवार्तामा हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने विषयले प्राथमिकता पाएको छ।

ad

छलफलका क्रममा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउने तथा जलवायुजन्य हानि र नोक्सानीसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने विषयमा समेत विचारविमर्श भएको बताइएको छ।

त्यसैगरी, कोप–३१ मा नेपालको प्राथमिकता र धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक तयारी तथा रणनीतिबारे पनि दुवै मन्त्रीबीच छलफल भएको छ।

जलवायु वित्त परिचालनलाई परिणाममुखी बनाउन सम्बन्धित मन्त्रालयहरूबीच समन्वय र सहकार्य बढाउने, उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने तथा अन्तर्राष्ट्रिय कोषबाट प्राप्त गर्न सकिने सहयोगका लागि संस्थागत प्रयासलाई सुदृढ बनाउने विषयमा पनि जोड दिइएको छ।