काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज सानेपामा शपथ ग्रहण गरेका छन्।

सभापति गगन कुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित समारोहमा थापाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

ad

यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेका छन् । सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहालीसमेत गराइएको उनले जानकारी दिए। 

शपथ ग्रहण र पदबहालीसँगै कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। यससँगै पार्टी केन्द्रीय कार्यालय सानेपामा नयाँ कार्यसमितिको पहिलो बैठक पनि बस्दैछ।