
काठमाडौं । विवादमा तानिएको इनाम सापकोटा प्रकरणबारे सर्वोच्च अदालतले संस्थागत रूपमै छानबिन गर्नुपर्ने सुझाव न्यायाधीशहरूले दिएका छन्। प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम जोडिएको विषय र न्यायाधीश हरि फुयालको सापकोटासँगको सम्बन्धबारे अदालतभित्रैबाट अनुसन्धान गरी साझा निष्कर्षमा पुग्नुपर्ने धारणा आएको हो।
शुक्रबार इजलास सुरु हुनुअघि बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा अधिकांश न्यायाधीशले प्रकरणको वास्तविकता पत्ता लगाउन अदालत आफैँले छानबिन गर्नुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ।
बैठकको सुरुवातमा न्यायाधीश हरि फुयालले सापकोटासँग आफ्नो सम्पर्क कसरी स्थापित भयो भन्नेबारे स्पष्टीकरण दिएका थिए। उनले आफ्नो संलग्नतामा कुनै गलत नियत नरहेको दाबी गर्दै घटनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। त्यसपछि बैठकमा सहभागी अन्य न्यायाधीशहरूले पनि पालैपालो आफ्नो विचार राखेका थिए।
सर्वोच्च अदालत स्रोतका अनुसार शुक्रबारको बैठकले यस विषयमा कुनै ठोस निर्णय गर्न सकेन। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमान अनुपस्थित रहेकाले उनीहरूसहित सोमबार पुनः बैठक बसेर आवश्यक निष्कर्ष निकाल्ने समझदारी भएको बताइएको छ।
यस प्रकरणमा प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएको छ। अमेरिकामा सापकोटासँग सम्बन्धित व्यक्तिले बैंकमा रकम जम्मा गराएको विषय सार्वजनिक भएपछि प्रधानन्यायाधीशको नामसमेत विवादमा आएको हो।
यता, न्यायाधीश फुयालले भने सापकोटासँग ह्वाट्सएपमार्फत पटक–पटक कुराकानी भएको स्वीकार गरिसकेका छन्। उनले हिमालयन होटलमा अन्य न्यायाधीशहरूसहित सामूहिक भेटघाट भएको पनि बताएका छन्।
तर, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास भएपछि आफूले नै त्यसविरुद्ध उजुरी दिएको फुयालको दाबी छ।
प्रकरणमा सर्वोच्च अदालतका उच्च पदाधिकारीको नाम जोडिएपछि न्यायिक क्षेत्रको ध्यान यसतर्फ केन्द्रित भएको छ। पूर्ण बैठकबाट छानबिनको विषयमा कस्तो निर्णय हुन्छ भन्ने चासो बढेको छ।










Facebook Comments