काठमाडौँ । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण (भेरीफिकेसन) नभएका कारण नागरिकले पाउने सेवा रोकिएका गुनासाहरू बढिरहेका बेला राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले महत्त्वपूर्ण स्पष्टीकरण दिएको छ। 

विभागले एक सूचना जारी गर्दै परिचयपत्रको विवरण प्रमाणीकरण हुन बाँकी रहे पनि राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायतका अत्यावश्यक सार्वजनिक सेवा प्रवाह नरोकिने प्रस्ट पारेको छ।

ad

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता गर्ने र राष्ट्रिय परिचय नम्बर जारी गर्ने काम नियमित रूपमा भइरहेको छ। तर, नागरिकका बायोमेट्रिक (औँठाछाप तथा अनुहार) विवरण प्रमाणीकरणका लागि प्रयोग हुने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टम (ABIS) को सीमित क्षमताका कारण केही नागरिकको प्रमाणीकरणमा ढिलाइ हुन पुगेको हो।

विशेष गरी २०८३ असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई नम्बर प्राप्त गरेका नागरिकहरूको हकमा यो प्राविधिक समस्या बढी देखिएको विभागले जनाएको छ। पछिल्लो समय यसै कारणले विशेषगरी सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लगायतका सेवा लिन जाँदा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको गुनासो गर्दै आएका थिए।

विभागले प्रविधिको क्षमता विस्तार गर्ने काम अहिले अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। आगामी दुई साताभित्र क्षमता विस्तारको काम पूर्ण रूपमा सम्पन्न भई प्रमाणीकरण सेवाले पुनः गति लिने विभागको अपेक्षा छ।

प्राविधिक समस्याकै कारण सेवाग्राहीहरू सेवा पाउनबाट वञ्चित नहोऊन् भनी विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग जोडिएका सम्पूर्ण सेवाप्रदायक निकायहरूलाई यसबारे जानकारी गराइसकेको छ।

साथै, सम्बन्धित सबै निकायलाई परिपत्र गर्दै विभागले राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका तर प्रमाणीकरण हुन बाँकी रहेका नागरिकहरूलाई कागजातको प्रक्रिया देखाएरै सहज रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ। यसले गर्दा अब प्राविधिक ढिलासुस्तीका कारण सेवाग्राहीहरूले अनावश्यक सास्ती व्यहोर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।