
काठमाडौं । विपक्षी दलहरूले संघीय संसद्को बैठक तत्काल आह्वान गर्न माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा आज दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले जनताका समस्या, राष्ट्रियता, लोकतन्त्र र संविधानसँग जोडिएका विषयमा गम्भीर छलफल गर्न संसद् बैठक तत्काल बोलाउनुपर्ने निष्कर्ष निकालेको हो । विपक्षी दलहरुले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषय बैठकमा उठेको जानकारी दिए ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीको सहभागिता रहेको थियो ।









Facebook Comments