काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । दुवै पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने सहमति भएको हो ।

एकता घोषणा कार्यक्रम कात्तिक १७ गते दिउँसो १ बजे काठमाडौंको कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने तय भएको छ ।

ad

विशेष एकता सभामार्फत दुई पार्टीबीचको एकतालाई औपचारिकता दिइनेछ । एकतापछि दुवै पार्टीका नेता तथा कार्यकर्ता एउटै राजनीतिक संगठनमा आबद्ध हुनेछन् ।

उमा भुजेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा छुट्टै राजनीतिक संगठन गठन गरेकी थिइन् ।

विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेपछि भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।

त्यसपछि छुट्टै राजनीतिक गतिविधि गर्दै आएको उक्त समूह अब नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णयमा पुगेको हो ।

कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र राजनीतिक ध्रुवीकरणलाई अगाडि बढाउने उद्देश्यले दुई पार्टीबीच एकता हुन लागेको बताइएको छ ।

पछिल्लो समय विभिन्न कम्युनिस्ट घटकबीच एकता र सहकार्यका प्रयास भइरहेका बेला भुजेल नेतृत्वको पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेको हो ।

कात्तिक १७ गते हुने एकता सभाबाट पार्टी एकताको औपचारिक घोषणा गरिनेछ । यससँगै भुजेल नेतृत्वको छुट्टै राजनीतिक संगठनको अस्तित्व नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनेछ ।