काठमाडौं । अग्रगामी मोर्चाका संस्थापक अगुवामध्येका एक तथा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी मोर्चाका पछिल्ला दुई कार्यक्रममा अनुपस्थित भएपछि राजनीतिक वृत्तमा चासो बढेको छ ।

मोर्चाले शनिबार भैरहवा र आइतबार नेपालगन्जमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा चौधरी सहभागी भएनन् । बर्दियाका स्थायी बासिन्दा चौधरी आफ्नै प्रदेशमा आयोजित कार्यक्रममा समेत नदेखिएपछि उनको अनुपस्थितिलाई लिएर मोर्चाभित्र विभिन्न अड्कलबाजी हुन थालेको छ ।

ad

मोर्चाको गठन प्रक्रियामा चौधरीको महत्वपूर्ण भूमिका रहेकाले पछिल्ला कार्यक्रममा उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी मोर्चाको गतिविधिबाट टाढिन खोजेका हुन् वा अन्य नेताहरूसँग कुनै असमझदारी उत्पन्न भएको हो भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

मोर्चाका एक नेताले चौधरी आफ्नै प्रदेशमा आयोजित कार्यक्रममा नआउनुको कारणबारे आफूहरू पनि अनभिज्ञ रहेको बताए ।

‘खै किन हो, उहाँकै प्रदेशमा आयोजित बैठकमा पनि आउनुभएन । यस विषयमा मोर्चाभित्र छलफल हुन्छ,’ ती नेताले भने ।

यद्यपि, नागरिक उन्मुक्ति पार्टी नेपालका एक नेताले भने चौधरी अन्य काममा व्यस्त रहेकाले कार्यक्रममा सहभागी हुन नसकेको दाबी गरेका छन् । उनको अनुपस्थितिलाई मोर्चासँगको सम्बन्धमा आएको दूरीका रूपमा बुझ्न नहुने ती नेताको भनाइ छ ।

एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारी
अग्रगामी मोर्चाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको छ । मोर्चामा आबद्ध दलहरू एउटै निर्वाचन चिह्नबाट चुनाव लड्ने तयारीमा छन् ।

यसै उद्देश्यले मोर्चाले देशका विभिन्न स्थानमा अभिमुखीकरण तथा संगठनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मोर्चामा उपेन्द्र यादव, सीके राउत, जनार्दन शर्मा, प्रभु साह र रिजवान अन्सारी नेतृत्वका राजनीतिक दलहरू आबद्ध छन् ।

निर्वाचनमा साझा चिह्न र सहकार्यको रणनीति बनाइरहेको मोर्चाका कार्यक्रममै संस्थापक नेतामध्येका चौधरी अनुपस्थित हुनुले उनको आगामी भूमिका र मोर्चाभित्रको राजनीतिक समीकरणबारे चासो बढाएको छ ।

तर, चौधरीको अनुपस्थितिको वास्तविक कारण र मोर्चासँगको उनको आगामी भूमिकाबारे औपचारिक धारणा सार्वजनिक भएको छैन ।