
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै स्वेच्छाचारी गतिविधि नरोकिए प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।
सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनालाई लिएर धारणा सार्वजनिक गर्दै थापाले सरकार सीमित व्यक्तिहरूको इच्छाअनुसार सञ्चालन हुन थालेको आरोप लगाए । लोकतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुँदा कांग्रेस मौन बस्न नसक्ने उनको भनाइ छ ।
थापाले कठिन परिस्थितिमा आफूहरूले सरकारलाई दलगत दृष्टिकोणबाट नहेरी सहयोग गरेको स्मरण गराउँदै त्यसको अर्थ सरकारका सबै गतिविधि स्वीकार गर्नु नभएको स्पष्ट पारे ।
‘अप्ठ्यारो परेका बेला हामीले विपक्षीमा भएर अर्को पार्टीको सरकार भनेनौँ । रास्वपा फरक दल हो भन्ने सोचेनौँ, तर लोकतन्त्र, मौलिक हकका विषयमा सीमा नाघे कांग्रेस चुप बस्दैन । हामी प्रतिवाद गर्छौँ,’ उनले भने ।
सञ्चारगृहमा प्रहरी प्रवेशले शाहीकालको झल्को दिएको टिप्पणी
कांग्रेस सभापति थापाले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र अन्य पत्रकारलाई खोजी गर्ने घटनाले तत्कालीन शाही शासनकालको झल्को दिएको टिप्पणी गरे ।
उनले सरकार सञ्चालनमा रहेका केही व्यक्तिमा राज्यका सबै निकाय आफ्नै आदेशअनुसार चल्नुपर्ने मानसिकता देखिएको आरोप लगाए ।
‘यो चिन्तित बनाउने प्रवृत्ति हो । सानो समूहले हामी नै राज्य हो भन्ने, हामीले बोलेको कुरा हुकुम हुन् भन्ने बुझ्यो । त्यो समूहलाई राज्यका निकायलाई हाम्रा आदेश पालन गर्ने निकाय हुन् भन्ने भ्रम देखियो । यो प्रवृत्तिले हद नाघ्यो । अब यसलाई सामान्य रूपमा लिन सकिँदैन,’ थापाले भने ।
उनका अनुसार सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु सामान्य प्रशासनिक विषय नभई राज्यले नागरिकको अधिकार र स्वतन्त्र प्रेसलाई कसरी हेर्छ भन्ने विषयसँग जोडिएको छ ।
पत्रकार पक्राउ प्रकरणलाई त्यसै टुंग्याउन नहुने
थापाले पत्रकार पक्राउ तथा सञ्चारगृहमा भएको प्रहरी धरपकडको घटनालाई निष्कर्षमा पुर्याएर जिम्मेवार व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग गरे ।
घटनालाई केही समयको विवाद मानेर त्यसै सेलाउन दिने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ ।
‘अब यो विषय सकिँदैन र सकिनु हुँदैन । यसभित्र गम्भीर विषय छन् । सरकारले राज्यलाई कसरी हेरेको छ, सरकारले नागरिकको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेसलाई कसरी हेरेको छ ? त्यो हामी जान्न चाहन्छौँ,’ उनले भने ।
थापाले घटनाको आदेश कसले दिएको थियो, कुन आधारमा प्रहरी सञ्चारगृहसम्म पुगेको थियो र पत्रकार पक्राउ गर्ने निर्णयमा को–को संलग्न थिए भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन् ।
आफ्नै सरकारलाई नियन्त्रणमा राख्न रास्वपालाई सुझाव
कांग्रेस सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि सरकारका गतिविधिमाथि राजनीतिक तथा संसदीय निगरानी गर्न आग्रह गरेका छन् ।
उनले रास्वपाको संसदीय दलको बैठक तत्काल बोलाएर प्रधानमन्त्रीलाई सरकारका गतिविधि संविधान र कानुनको सीमाभित्र राख्न निर्देशन दिनुपर्ने बताए ।
पत्रकार पक्राउ प्रकरणमा संलग्न दोषीमाथि कारबाही गर्न पनि संसदीय दलबाटै प्रधानमन्त्रीलाई स्पष्ट निर्देशन दिनुपर्ने उनको माग छ ।
‘रास्वपाको संसदीय दलको बैठक बसोस् । सरकारलाई निर्देशन देओस् । प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन गरून्, हामीले खोजेको यही हो,’ थापाले भने ।
सरकारलाई विगतमा सहयोग गरेको भए पनि लोकतान्त्रिक मूल्य, मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुँदा प्रतिपक्षका रूपमा कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्ने उनको स्पष्ट संकेत छ ।









Facebook Comments