
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ पाँच वर्षे कार्यकाल पूरा गरी यही कात्तिक २४ गते पदबाट बिदा हुने भएका छन् । उनको कार्यकाल सकिन लागेसँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेश प्रमुखसँग बिदाइ भेट गरेका छन् ।
२०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका खापुङले आगामी कात्तिक २४ गते पाँच वर्ष पूरा गर्नेछन् ।
बिदाइ भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संस्थागत स्थायित्वका लागि खापुङले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले विकास निर्माण र स्थायित्वलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी गराएका थिए । संघीयता कार्यान्वयनको चरणमा पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका प्रदेश प्रमुखप्रति उनले आभार व्यक्त गरे ।
त्यस अवसरमा कार्कीले प्रदेश प्रमुखका रूपमा खापुङले प्रदेश सरकारलाई अभिभावकीय भूमिका प्रदान गरेको तथा संवैधानिक र कानुनी व्यवस्थालाई व्यवस्थित बनाउन सहयोग पुर्याएको उल्लेख गरे ।
भेटमा प्रदेशको समग्र विकास, संघीयताको अभ्यास र प्रदेश सरकारका विभिन्न गतिविधिबारे समेत छलफल भएको थियो ।
प्रदेश सरकारको सहकार्यप्रति खापुङको आभार
बिदाइ भेटका क्रममा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद दिएका थिए ।
प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा प्रदेश सरकारसँगको समन्वय र सहकार्यले संवैधानिक दायित्व निर्वाह गर्न सहज भएको उनको भनाइ थियो ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुन्छ । साथै, एक प्रदेशमा पाँच वर्ष कार्यकाल पूरा गरिसकेको व्यक्ति सोही प्रदेशमा पुनः प्रदेश प्रमुख नियुक्त हुन पाउँदैन ।
पाँच वर्षे कार्यकाल पूरा हुन लागेसँगै खापुङ कोशी प्रदेश प्रमुखको जिम्मेवारीबाट बाहिरिने भएका हुन् ।









Facebook Comments