विश्वस्वरूप हो प्रकृति

जसको सौन्दर्य भनेकै सन्तुलन

ad

सन्तुलन रहे मात्रै सृष्टिभित्रका मान्छे बाँच्ने र हाँस्ने

नपत्याए वायुमण्डललाई मात्र हेरौँ।

 

विभिन्न ग्यासले भरिएको छ वायुमण्डल

पृथ्वीको गुरुत्वाकर्षणले गर्दा यी भाग्न पाउँदैनन्

त्यसैले सास फेर्नका लागि धेरै अक्सिजन छ

कार्बन डाइअक्साइडको अंश पनि छ तर अति नै थोरै

यो सन्तुलनबिना धर्तीमा सृष्टि बाँच्न सक्दैन

आगो ओकलिरहेको सूर्यकिरणअगाडि के रहने ?

तर सूर्यको किरणबिना धर्ती न्यानो पनि कसरी हुने ?

केही न्यानो नभए सृष्टि कसरी बाँच्ने ?

 

यहाँनिर हुन्छ जादु कार्बन डाइअक्साइडको

धर्तीमा आइरहेका सूर्यका किरणसँग खेलेर

सूर्यको किरण प्रायः सबै नै फिर्ता पठाइदिन्छ

केवल थोरै मात्र धर्तीमा रहन दिएर

त्यति थोरै जति बाँच्नका लागि चाहिने न्यानो हो

प्रकृतिको यस्तो सन्तुलनमा बाँचेको सृष्टि

यो सन्तुलनमा बाँचेका जीवजन्तु र हामी मान्छेहरू।

 

मान्छे जति बुद्धिमान् हुँदै गयो त्यति नै स्वाँठ पनि

कसरी ?

आफू उभिएको हाँगो आफैँले काटे जसरी

प्रकृतिको जुन सन्तुलनमा ऊ बाँचेको छ

त्यही सन्तुलन नै भत्काउन थाल्यो

परिणतिः

बाढी, पहिरो, भूकम्प र हिमनदी फुटेर जनधनको क्षति

आउने दिनमा झन् बढ्नेछ यसको गति

जब समुद्री सतह बढ्दै जानेछ

यस्तो क्षति समुद्रवारि हिमालमा मात्र होइन

समुद्रपारि समुन्नत सहरहरूमा पनि फैलिनेछ

वारि हिमाल जति कमजोर, पारि समुद्र त्यति नै कमजोर।

 

बुद्धिमान् मान्छेहरू जानीजानी किन स्वाँठ बनिरहेका ?

उत्तरः

सुरसाको मुखजस्तै कहिले नअघाउने लोभले गर्दा

नपढेका अनजान मान्छेहरू स्वाँठ बनेका होइनन्

पढेका, सबै कुरा बुझेका यी वाचालहरू स्वाँठ बनेका

प्रचण्ड लोभमा वशीभूत यी कहिले नअघाएर

त्यसैले अनवरत प्रकृतिसँग झगडा गरिरहेका छन्

प्रकृतिले कायम राखेको सन्तुलन बिगारीराखेका छन्।

 

लगानी र रोजगारी बढाउने विकासका नाममा

कार्बन डाइअक्साइड बराबरका

हरितगृह ग्यासहरू

यी स्वाँठहरूले अत्यधिक उत्सर्जन गरिरहेका छन्

त्यो सन्तुलन भत्काइरहेका छन्

गर्नै नहुने काम गरेर आफूलाई सिद्ध्याइरहेका छन्

कसरी ?

बिना रोकटोक त्यस्ता आर्थिक गतिविधि गरिरहेका

जसले कार्बन डाइअक्साइडको मात्रा बढाइरहेको छ

विकासे लोभको अरु सबै शृङ्खला चढ्दै जाँदा

यो सन्तुलन भत्किएर विश्व तापक्रम बढ्दै गएको

हिउँबाट बनेका तर हिउँटोपी नलगाउने

पर्माफ्रोस्ट चट्टानहरूलाई हेर

ताप बढेर ती विष ओकलिरहेका छन्।

 

नपत्याए अलास्कामा गएर हेर

विष फालिरहेका चट्टानका अनेकौँ मुखहरूलाई

अझ नपत्याए साइबेरियामा गएर हेर त्यस्ता मुखहरूलाई

तापक्रम मात्र होइन अब त भाइरस पनि बढ्नेछ

विश्व पर्यावरण असन्तुलित पारेको यही कारणले

प्रकृतिसँग मिलेर बस्नुपर्ने सम्बन्धलाई बिगारेर

अत्यन्त वैमनस्यपूर्ण पार्दै गएर।

 

धर्तीका कमजोर मान्छेहरू कराइरहेका छन्ः

हे पहलवानहरू! यसरी झगडा नगरिदेऊ

अणु लिएर लडु भन्नेले रोदन कमजोरको के सुन्थे ?

लोभप्रदत्त वैमनस्यपूर्ण सम्बन्धको परिणति भोग्ने

अहिले कमजोरहरूमध्येका हामी परेका छौँ।

 

के प्रकृतिको अर्थशास्त्र धनीकहाँ विश्वको स्रोत पु¥याउने हो ?

होइन, कहिले पनि होइन

प्रकृतिले धनी र गरिबबिच कुनै फरक राखेकै छैन

यही प्रकृतिको अर्थशास्त्र नबुझेर हो

अणुशक्तिको गर्जन गर्नेहरू स्वाँठ भएका।

 

विगत ३४ वर्षदेखिको विश्वव्यापी तापक्रम वृद्धिको चासो

लन्ठ्याइरहेका छन् यी महापण्डितहरूले

बरु कार्बन डाइअक्साइड बराबर हरितगृह ग्यासहरू

सर्वाधिक उत्सर्जन गरिरहेका

सन्तुलन बिग्रेर प्रकृति आक्रोशित भएपछि

प्राकृतिक विनाशलाई कुनै भौगोलिक सीमाले छेक्न सक्दैन

एउटै हो ग्रह जहाँ कमजोर छन्, त्यहाँ शक्तिशाली पनि

अणु–शक्तिशाली सुरक्षित त्यतिबेला मात्र हुन्छन्

जतिबेला यो ग्रह सुरक्षित हुन्छ

नत्र प्रकृतिलाई आक्रोशित पार्ने यी लोभ–वशीभूतहरू

अन्ततः आफ्नै आत्मविनाश गरेर कसरी सुरक्षित हुन सक्छन् ?

रोजाई यिनैको होः

बुद्धिमान् बन्ने कि स्वाँठ ?