दुईतले त्यो घरको उत्तर–दक्षिण लामो काठको बरन्डा
जहाँ त्यो अन्त्य हुन्थ्यो त्यहाँ त्यसको अन्तिम ढोका
त्यसपछि दुई सिँढी पश्चिम उक्लेपछि
फेरि पूर्व–पश्चिम वारपार इँटको बरन्डा
यसरी एक साइडमा लहरै कोठाहरू
अर्को साइडमा डन्डीले बन्द गरिएको खुला
यी दुई बरन्डाहरूले समावेश गरेका तल दुई चोकहरू

त्यो काठको बरन्डाको त्यो अन्तिम ढोकाभित्र
भव्यता नभए पनि नव्यता थियो
दक्षिण झ्याल भएको त्यो सानो कोठाको नव्यता
काठको पार्केटिङ गरेर बनाइएको भुइँ थियो
त्यसैले त्यसको नाम नै काठको कोठा

ad

दक्षिणतिरै फर्किएको झ्यालमा जोडिएको टेबुल
त्यसको अगाडि एउटा काठको कुर्सी
भित्र छिर्नेबित्तिकै दाहिनेतिरको उत्तर–दक्षिण भित्ता
त्यसैसँग टाँसिएको एउटा खाट
जाडोमा झुल झिकिएको तर हाल्ने काठ यथावत्
त्यस्तै अर्को भित्तामा लुगाफाटो राख्ने काठको दराज
यो कोठामा म सुत्थे पाँच वर्ष जेठो दाजुसँग

एक रात, होइन, मध्यरातमा
म अचानक झल्याँस्स बिउँझिए
सुन्छु भयानक आवाज आइरहेको
मानौँ कुनै हवाई जहाज उडिरहेको छ
मस्त निन्द्रामा दाजुको घुरिरहेको आवाज रहेछ
चौधौँ दिनको चन्द्रमाको उज्यालो
पूर्व दक्षिणतिरबाट ठ्याक्कै त्यो काठमा परेको
झुलको काठमा टाँसिएको सर्वांग कालो आकृति ठिंग देखिएको

सिरक भित्र होस् उड्यो, सास रोकियो, पसिना छुट्यो
आँखा हठात् चिम्लेँ
सास सुस्तरी फेरे कतै त्यो भूतले सुन्ला भनेर
सुकेको मुख तर ढकढक भइरहेको छाती
पसिनाले नुहाएको जस्तो भएको शरीर 
बेखबर आवाज निकालिरहेको दाजुलाईलाई उठाउन
एउटै सिरकभित्रको आफ्नो हात

हत्केलाले हल्का धकेल्न पनि सकिन
जहाँ–जहाँ लम्पसार थिए त्यहाँ झन् सिकुडिए
यही कसमकसमा संघर्ष गर्दागर्दै
कहिले निदाएँ थाहा भएन

मलाई नै लक्षित गरेर आमाले कराइरहेको आवाज–
‘घाम पर पुग्दा पनि यत्रो पूर्णेको दिनमा अझै सुतिरहेको छ’
त्यो सुनेपछि झल्याँस्स बिउँझेँ
ओछ्यान हेरेँ खाली छ
झन् डराएर बिस्तारै त्यो झुलको काठमा हेरँे
मामाघर जाँदा लगाएको दाजुको कालो लम्बेकोट झुन्डिएको ।