
बाँके । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका निर्माण गरिने भएको छ। यसका लागि बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरेको छ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत शालिक तथा बाटिका निर्माणका लागि बजेट छुट्याएको हो। चालु आर्थिक वर्षभित्रै निर्माणसम्बन्धी काम अघि बढाउने लक्ष्य रहेको उनले बताए।
अध्यक्ष शाहीले बाँकेका निवासी तथा पूर्वप्रधानमन्त्री कोइरालाले राष्ट्रका लागि पुर्याएको योगदानको सम्मान गर्न गाउँपालिकाले यो योजना ल्याएको जानकारी दिए।
“संविधान निर्माण प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्वर्गीय सुशील कोइरालाको योगदान अविस्मरणीय छ। उहाँको सम्मानमा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका निर्माण गर्न बजेट विनियोजन गरेका छौँ,” शाहीले भने।
सादगी जीवनशैली र सरल राजनीतिक व्यक्तित्वका रूपमा परिचित कोइरालाको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
पश्चिम क्षेत्रका बिरामीलाई उपचारको सुविधा
खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालका विभिन्न क्षेत्रका क्यान्सरका बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि टाढाका ठूला सहर जानुपर्ने बाध्यता केही हदसम्म कम भएको छ।
यस अस्पताल परिसरमा शालिक र बाटिका निर्माण भएपछि बिरामी, उनीहरूका आफन्त तथा अस्पतालमा आउने अन्य व्यक्तिका लागि स्मृतिस्थलसमेत तयार हुनेछ।
यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि नेपालगन्ज–१० स्थित ट्राफिक चोक नजिकको सुशील बाटिका परिसरमा पूर्वप्रधानमन्त्री कोइरालाको अर्धकदको शालिक निर्माण गरिसकेको छ।
बैजनाथ गाउँपालिकाले अघि सारेको नयाँ योजनाले कोइरालाको राजनीतिक योगदानको स्मरणसँगै उनको नामसँग जोडिएको क्यान्सर अस्पताल परिसरको सौन्दर्यीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।









Facebook Comments