काठमाडौं । नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले शुक्रबार काठमाडौंस्थित उनको कार्यकक्षबाटै पक्राउ गरेको छ। कार्यालयमा प्रवेश गरेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर लगेको नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलले जानकारी दिएका छन्।

प्राप्त विवरणअनुसार शुक्रबार दिउँसो सादा पोशाकमा प्रहरी कर्मचारीहरू बानेश्वरस्थित नेपाल प्रेसको कार्यालय पुगेका थिए। उनीहरूले कार्यालयभित्र प्रवेश गरी सुवेदीलाई नियन्त्रणमा लिएका हुन्।

ad

सुवेदीलाई पक्राउ गर्न प्रहरी टोलीले पक्राउ पुर्जी देखाएको थिएन। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा उनलाई साइबर ब्युरोको पत्रका आधारमा नियन्त्रणमा लिइएको उल्लेख छ।

प्रहरीले उनलाई कुन समाचार, सामग्री वा विषयसँग सम्बन्धित कसुरमा पक्राउ गरेको हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

कार्यालयमा रहेका अन्य पत्रकारका अनुसार प्रहरी टोलीले आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको र माथिल्लो तहको आदेशअनुसार आएको बताएका थिए। पक्राउपछि सुवेदीलाई प्रहरी भ्यानमा राखेर लगिएको जनाइएको छ।

पक्राउको कारण, अनुसन्धानको विषय र उनलाई कहाँ राखिएको छ भन्नेबारे थप आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

पत्रकार सुवेदी यसअघि समाजवादी प्रेस संगठन नेपालको अध्यक्षका रूपमा कार्यरत थिए। २०८१ माघमा संगठनले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। त्यसपछि उनी प्रेस चौतारी नेपालमा आबद्ध भएका थिए।

सुवेदीको पक्राउसँगै पत्रकारलाई समाचार तथा अभिव्यक्तिसँग सम्बन्धित विषयमा अनुसन्धान गर्दा अपनाइने कानुनी प्रक्रिया र प्रेस स्वतन्त्रताको सवालसमेत चर्चामा आएको छ।