काठमाडौं । प्रेस काउन्सिलको विद्यमान कानुनी व्यवस्था संशोधन तथा एकीकरण गरी नयाँ ऐन निर्माण गर्ने उद्देश्यसहित तयार पारिएको विधेयकमाथि सरकारी तहमा छलफल भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज आयोजित छलफलमा विधेयकका विभिन्न प्रावधान तथा प्रेस काउन्सिलको प्रस्तावित संरचनाबारे विचारविमर्श गरिएको हो।

ad

प्रस्तावित विधेयकमा पत्रकारिताको पेसागत मर्यादा र व्यावसायिक आचरणलाई कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय, जिम्मेवार र मर्यादित बनाउने लक्ष्य राखिएको छ। त्यसैगरी, स्वःनियमनको अभ्यासलाई प्रोत्साहन गर्दै स्वतन्त्र, स्वच्छ र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकले प्रेस काउन्सिललाई स्वायत्त नियामक निकायका रूपमा स्थापना र सञ्चालन गर्ने अवधारणा अघि सारेको छ।

छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको सहभागिता रहेको थियो।

त्यस अवसरमा सरकारका उच्चपदस्थ कर्मचारी तथा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रतिनिधिहरू पनि सहभागी थिए।