काठमाडौं । बंगालको खाडीमा विकसित अर्नब चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभाव नेपालमा अझै कायम रहने भएको छ। मौसम प्रणालीको प्रभावले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ भने शनिबारसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

शुक्रबार साँझसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको मात्रा बढ्न सक्नेछ। ती प्रदेशका एकाध स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ।

ad

उनका अनुसार पछिल्लो १२ घण्टामा कोशी प्रदेशमा औसत ४० मिलिमिटर, मधेशमा २० मिलिमिटर, बागमतीमा १५ मिलिमिटर र गण्डकी प्रदेशमा सात मिलिमिटर वर्षा मापन भएको छ।

वर्षा पूर्वी क्षेत्रबाट क्रमशः बागमती र गण्डकी प्रदेशतर्फ विस्तार भइरहेको उनले बताए। उच्च हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन सक्ने सम्भावना छ।

मौसमविद् उपाध्यायका अनुसार वर्षा लामो समयसम्म निरन्तर रहने सम्भावना भने कम छ। अधिकांश स्थानमा हल्का वर्षा हुने र कतिपय ठाउँमा ठूलो वर्षा भए पनि एकदेखि दुई घण्टाभन्दा बढी कायम नहुने अनुमान गरिएको छ। शनिबार दिउँसोपछि वर्षाको क्रम केही कमजोर हुने भए पनि मौसम तत्काल पूर्ण रूपमा सफा नहुने उनको भनाइ छ।

छोटो समयको वर्षाले समेत आकस्मिक बाढी, पहिरो तथा हिमपहिरो निम्त्याउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन उनले आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले पनि शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ।

विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

विशेषगरी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विभागले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। उच्च हिमाली क्षेत्रमा भ्रमणको योजना बनाएका पर्यटकलाई यात्रा नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

मौसम प्रतिकूलताले धानबाली भित्र्याउनेलगायतका कृषि गतिविधिमा असर पार्न सक्ने भएकाले किसानलाई पनि आवश्यक सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

त्यसैगरी वर्षाका कारण पहिरो, सडक अवरोध तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै यात्रु, पर्यटक र सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन विभागले आग्रह गरेको छ। वर्षासँगै चिसोसमेत बढ्न सक्ने भएकाले सर्वसाधारणलाई स्वास्थ्य र सुरक्षामा ध्यान दिन भनिएको छ।