
काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाल पक्राउ परेको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ।
एसोसिएसनले दुवै इन्जिनियरलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पक्राउको कानुनी आधार र कारण सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
एसोसिएसनका अनुसार कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक अधिकारको पूर्ण सम्मान हुनुपर्छ। आधिकारिक कारण र कानुनी आधार स्पष्ट नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेसागत मर्यादामाथि प्रश्न उठाउन सक्ने उसको भनाइ छ।
एसोसिएसनले दुवै इन्जिनियरको मानव अधिकार तथा कानुनी अधिकार सुनिश्चित गर्न र अनुसन्धानलाई निष्पक्ष, पारदर्शी एवं कानुनसम्मत ढंगले अघि बढाउन आग्रह गरेको छ।
सार्वजनिक समाचारअनुसार सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने विषयमा असहमति जनाएपछि महानिर्देशक रजौरिया पक्राउ परेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको दाबीसमेत समाचारमा गरिएको छ। यद्यपि, यसबारे सरकारको आधिकारिक पुष्टि सार्वजनिक भएको छैन।
अनुगमनका लागि मधेश प्रदेश पुगेका रजौरियालाई प्रहरीले सिरहाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको समाचारमा उल्लेख छ। आयोजना निर्देशक रिजालले पनि ठेक्का तोड्ने विषयमा रजौरियालाई साथ दिएको बताइएको छ।
रजौरियालाई गत असोज ५ गते सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले जलस्रोत तथा सिंचाइ विभागको महानिर्देशक नियुक्त गरेका थिए। पछिल्लो घटनाका बेला मन्त्री श्रेष्ठ थाइल्यान्डमा रहेकाले उनको अनुपस्थितिमा विभागका महानिर्देशक पक्राउ परेका हुन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का व्यवस्थापनसँग जोडिएको विवाद र त्यसपछि भएको गिरफ्तारीले अहिले इन्जिनियरिङ क्षेत्रको ध्यान तानेको छ।
एसोसिएसनले पक्राउको कारण स्पष्ट पार्दै कानुनी प्रक्रियाको पालना गर्न र सम्बन्धित इन्जिनियरहरूलाई न्यायोचित व्यवहार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।










Facebook Comments