
काठमाडौं । चीनसँगको व्यापारिक कारोबार सहज बनाउन सरकारले तातोपानी र रसुवागढी नाकालाई पुनः नियमित सञ्चालनमा ल्याउने प्रयास तीव्र पारेको छ। यसका लागि सरकारले सम्बन्धित मन्त्रालय तथा निकायबीच समन्वय गर्नुका साथै चीनसँग कूटनीतिक संवादलाई अघि बढाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाहरू सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा बिहीबार विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक बसेको थियो।
बैठकमा गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी नाकामा पुगेको क्षतिको अवस्था, पुनर्निर्माणको काम र नाका पुनः सञ्चालन गर्ने उपायबारे छलफल भएको थियो। साथै, चीनसँग जोडिएका अन्य व्यापारिक नाकालाई समेत नियमित सञ्चालनमा ल्याउने विषयले बैठकमा प्राथमिकता पाएको थियो।
बाढीपछि बन्द भएको तातोपानी नाका दसैंका अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न खुला गरिएको थियो। तर, उक्त अवधिपछि नाका पूर्ण रूपमा नियमित हुन सकेको छैन।
चीनसँगका व्यापारिक मार्ग सञ्चालनका लागि मन्त्रालयले निरन्तर समन्वय गरिरहेको प्रवक्ता क्षेत्रीले बताएका छन्। उनका अनुसार नाका सञ्चालनलाई सहज बनाउन कूटनीतिक तहबाट समेत पहल जारी छ।
यसैबीच, दक्षिणपूर्वी एसियाली मुलुकहरूमा अनलाइन ठगी अर्थात् स्क्यामिङ गतिविधिमा फसेका नेपाली नागरिकको उद्धारका लागि पनि सरकारले आवश्यक समन्वय र पहल गरिरहेको मन्त्रालयले जनाएको छ।
व्यापारिक नाका अवरुद्ध हुँदा आयात–निर्यात तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा परेको असरलाई कम गर्न नाका पुनः सञ्चालनको विषयलाई सरकारले प्राथमिकतामा राखेको देखिन्छ।










Facebook Comments