हेटौँडा । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले मकवानपुरसहितका क्षेत्रमा वर्षा जारी रहेपछि कान्ति राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै सडकमा बाढी तथा पहिरोको जोखिम बढेकाले निश्चित समयका लागि यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

ad

प्रशासनका अनुसार कात्तिक १२ गतेदेखि लगातार भइरहेको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा बाढी र पहिरो जान सक्ने जोखिम छ। सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न कात्तिक १३ गते साँझ ५ बजेदेखि कात्तिक १४ गते बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

प्रशासनले तोकिएको समयभित्र कान्ति राजमार्गमा सवारीसाधन नचलाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

निरन्तरको वर्षाले सडकको अवस्था जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणलाई ध्यानमा राखेर आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।