काठमाडौं । वैदेशिक रोजगारीको आकर्षण देखाएर दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन ठगी केन्द्रमा नेपाली नागरिकलाई फसाउने क्रम अझै रोकिएको छैन। यस्ता केन्द्रबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिए पनि कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमावर्ती क्षेत्रमा नेपालीहरू अलपत्र पर्ने तथा ठगीमा पर्ने घटना जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ठगी केन्द्रमा फसेका नेपालीलाई उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काउन सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

ad

उनका अनुसार पीडित नेपाली नागरिक तथा उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासमा उद्धारका लागि सम्पर्क गरिरहेका छन्। पीडितको उद्धार, आवश्यक कागजी प्रक्रिया र स्वदेश फिर्तीका लागि कूटनीतिक माध्यमबाट सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ। प्रवक्ता क्षेत्रीका अनुसार गत कात्तिक ४ गते भएको उक्त घटनामा नेपाली नागरिकको मृत्यु भएको हो। मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ। नेपाल सरकारले यसअघि असोज २५ गते विज्ञप्ति जारी गरी उक्त आक्रमणको विरोध गरेको थियो। सरकारले विवादको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गर्दै सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई कुनै पनि अवस्थामा निशाना बनाउन नहुने धारणा राखेको थियो।

क्षेत्रीय सुरक्षा सहकार्यका विषयमा पनि मन्त्रालयले पछिल्लो प्रगति सार्वजनिक गरेको छ। बंगालको खाडीका बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि गठन गरिएको बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक भारतको नयाँ दिल्लीमा सन् २०२६ अक्टोबर १३ मा सम्पन्न भएको छ।

बैठकले आतंकवाद, लागुऔषध तस्करी, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय कारोबार र साइबर अपराध नियन्त्रणमा सदस्य राष्ट्रबीच सहकार्य बढाउने प्रतिबद्धतासहित २६ बुँदे घोषणापत्र जारी गरेको मन्त्रालयले जनाएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले साझा सुरक्षा चुनौती सामना गर्न सदस्य राष्ट्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए।

यसैगरी, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का १५औँ महासचिव मोहम्मद गोलाम सरवारले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएका छन्। उनको स्थानमा नियुक्त १६औँ महासचिव भुटानका तासो सोनाम तोब्गे छिट्टै काठमाडौं आउने मन्त्रालयका प्रवक्ता क्षेत्रीले जानकारी दिए।

कूटनीतिक गतिविधिअन्तर्गत असोज २८ गते पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्। ओहदाको प्रमाणपत्र पेस गर्नेमा युरोपेली संघ, इन्डोनेसिया, सुडान, घाना र ब्रुनाई दारुसलामका राजदूत रहेका छन्।

उता, नयाँ राहदानी प्रणाली सञ्चालनमा आएको तीन महिना पुगेको मन्त्रालयले जनाएको छ। प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्ला प्रशासन कार्यालय, २४ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ नेपाली नियोगबाट लाइभ इनरोलमेन्ट सेवा सञ्चालन भइरहेको छ। नयाँ प्रणालीमार्फत अहिलेसम्म करिब दुई लाख ५० हजार राहदानी छपाइ भइसकेको छ।

राहदानी वितरण प्रक्रियामा देखिएका समस्या समाधान गरी नागरिकलाई सहज सेवा उपलब्ध गराउन मन्त्रालय र सम्बन्धित विभागले काम गरिरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।