
काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत बनाउने र स्तरोन्नति गर्ने कामका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत केबल बिछ्याउने कार्य अघि बढाउन लागेको हो। त्यसका लागि कात्तिक १३ देखि २० गतेसम्म दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार विभिन्न दिन प्रभावित हुने क्षेत्र यसप्रकार छन् :
कात्तिक १३ गते : बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी आसपासका क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ।
कात्तिक १४ गते : सीतापाइला फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति रोकिनेछ।
कात्तिक १५ गते : कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म बत्ती जानेछ।
कात्तिक १६ गते : बाफल फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसन क्षेत्र प्रभावित हुनेछ।
कात्तिक १७ गते : शंखमूल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
कात्तिक १८ गते : सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् कटौती हुनेछ।
कात्तिक १९ गते : स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
कात्तिक २० गते : पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा बत्ती जानेछ।
प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले भूमिगत केबल बिछ्याउने तथा आवश्यक प्राविधिक सुधारको काम गर्न लागेको जनाएको छ।
यद्यपि, मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन हुन सक्ने वा काम स्थगित हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ।
निर्धारित समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।










Facebook Comments