
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा आज बिहीबार र भोलि शुक्रबार वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना औँल्याएको छ। यस्तै, कोसी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसममा हुने परिवर्तनका कारण दैनिक गतिविधि तथा कृषि कार्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
महाशाखाले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्यमा संलग्न किसान तथा सम्बन्धित निकायलाई मौसमको पछिल्लो पूर्वानुमानबारे जानकारी लिएर आवश्यक तयारी गर्न आग्रह गरेको छ।
यस वर्षको मनसुन असोज २८ गतेदेखि नेपालबाट पूर्ण रूपमा बाहिरिएको छ। मनसुन बाहिरिएपछि देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावसँगै तापक्रम घट्ने क्रम बढ्दा देशका विभिन्न क्षेत्रमा चिसो महसुस हुन थालेको छ। वर्षा र हिमपातको सम्भावना रहेका हिमाली तथा पहाडी क्षेत्रमा मौसम थप चिसिन सक्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसमको अवस्था समयअनुसार परिवर्तन हुन सक्ने भएकाले यात्रा, कृषि कार्य तथा अन्य बाहिरी गतिविधि सञ्चालन गर्नुअघि मौसम पूर्वानुमानको पछिल्लो विवरण हेर्नु उपयुक्त हुनेछ।









Facebook Comments