काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीमा नयाँ नेतृत्व र कार्यशैलीको सुरुवात भएको दाबी गरेका छन्। उनले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको नयाँ राजनीतिक चरणलाई ‘गगन एरा’को संज्ञा दिँदै यो क्रम आगामी १० देखि १५ वर्षसम्म जारी रहने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि आचार्यले पार्टी अब पुरानै शैलीमा सञ्चालन हुन नसक्ने बताएका हुन्। उनका अनुसार संगठन सञ्चालनमा व्यक्तिको इच्छाभन्दा संस्थागत निर्णय, विधि र पद्धतिले प्राथमिकता पाउनुपर्छ। ‘गगन एरामा परम्परागत शैलीबाट पार्टी चल्दैन। व्यक्तिको सनकको भरमा संगठन चल्ने दिन सकिए,’ आचार्यले भने, ‘गगन एरा सुरु भएको छ। यो अझै १०–१५ वर्षसम्म जारी रहन्छ।’

ad

छुटेका नेताहरूलाई उचित जिम्मेवारी दिइने

महाधिवेशनबाट आफूले निर्वाचित भएको देख्न चाहेका केही नेताहरू पराजित भएको उल्लेख गर्दै आचार्यले उनीहरूलाई भविष्यमा पार्टीभित्र उचित जिम्मेवारी दिने बताएका छन्।

उनका अनुसार सभापति गगन थापाको चाहना पनि केही नेताहरू निर्वाचित होऊन् भन्ने हुन सक्थ्यो। तर, निर्वाचनको परिणामअनुसार केही नेता बाहिरिएका छन्। उनीहरूलाई पार्टीको आगामी भूमिकामा समेट्ने विषयमा ध्यान दिइने आचार्यको भनाइ छ।

‘गएको महाधिवेशनबाट केही साथीहरू जितिदिए हुन्थ्यो भन्ने लागेको थियो। सायद सभापतिजीलाई पनि लागेको थियो,’ उनले भने, ‘ती साथीहरूमध्ये केही छुट्नुभयो। उहाँहरूलाई भविष्यमा उचित जिम्मेवारी दिइनेछ।’

समावेशिताका कारण संगठनको आकार बढ्यो
महाधिवेशनपछि कांग्रेसको संगठनात्मक संरचना ठूलो र भद्दा बनेको भन्दै भइरहेको आलोचनाबारे पनि आचार्यले प्रतिक्रिया दिएका छन्।

उनले संगठनको आकार बढाउने उद्देश्य नभए पनि विभिन्न समूह र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशितालाई विस्तार गर्ने क्रममा संरचना ठूलो भएको बताए।

आचार्यका अनुसार अब पार्टीको संगठनात्मक संरचनासँगै केन्द्रीय समितिको बैठक सञ्चालन गर्ने शैलीमा समेत परिवर्तन गरिनेछ। यसका लागि केन्द्रीय समितिको बैठकको स्वरूप र संरचनालाई पुनर्विचार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

महाधिवेशनमा बाँडिएका सूची व्यक्तिगत स्वार्थमा आधारित
महाधिवेशनका क्रममा विभिन्न नेताहरूको नाम समेटिएका सूची र चिट वितरण भएको विषयमा आचार्यले त्यस्ता सूची व्यक्तिगत स्वार्थअनुसार तयार पारिएको बताएका छन्।

आफ्नो ह्वाट्सएपमा समेत विभिन्न सूची आएको उल्लेख गर्दै उनले कतिपय सूचीमा आफ्नै नामसमेत नरहेको बताए। उनका अनुसार महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न समूहले आ–आफ्नो रुचिअनुसार सूची तयार गरेर वितरण गरेका थिए।

‘मेरो ह्वाट्सएपमा पनि अनेक चिट आए। आफ्नो इन्ट्रेस्टमा साथीहरूले चिट बनाएर बाँड्नुभयो। कतिपय सूचीमा त मेरै नाम थिएन,’ उनले भने।

सभापति र पार्टीका वरिष्ठ नेताहरू सामूहिक रूपमा बसेर त्यस्ता सूची तयार पारेको भन्ने दाबी भने सत्य नभएको आचार्यले स्पष्ट पारे।

महाधिवेशनपछि कांग्रेसमा नेतृत्व परिवर्तनसँगै संगठन सञ्चालनको शैली, समावेशिता र आन्तरिक व्यवस्थापनमा सुधार गर्ने विषयले प्राथमिकता पाउने उनको भनाइ छ।