
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण गर्नुपर्ने बताएका छन्। उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर मात्रै दीर्घकालीन विकासको बाटो तय गर्न सकिने धारणा राखेका छन्।
एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले पार्टीका नीति निर्माण प्रक्रिया अध्ययन र अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिएका हुन्। उनले पार्टीका विषयगत विभागहरूलाई पनि सम्बन्धित क्षेत्रको वास्तविक अवस्था विश्लेषण गरेर नीति तथा कार्यक्रम तयार गर्न आग्रह गरिएको जानकारी दिए।
अध्यक्ष ओलीका अनुसार नीति निर्माण गर्दा तत्काल देखिएका समस्याको समाधानमा मात्र केन्द्रित नभई भविष्यका चुनौती र सम्भावनालाई समेत ध्यान दिनुपर्छ। कृषि, पूर्वाधार, अर्थतन्त्र र परराष्ट्र नीतिजस्ता महत्त्वपूर्ण क्षेत्रमा दीर्घकालीन सोचका साथ योजना बनाउनुपर्ने उनको भनाइ थियो।
उनले देशको विकासको मुख्य उद्देश्य नागरिकको जीवनस्तर उकास्नु, गरिबी घटाउनु र आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु रहेको बताए। नागरिकको आम्दानी वृद्धि, रोजगारी सिर्जना र आर्थिक अवस्था सुधारलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरे।
रोजगारीको मूल्यांकन काममा बिताएको समयका आधारमा मात्रै गर्न नहुने धारणा राख्दै ओलीले त्यसबाट प्राप्त आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था हुनुपर्ने बताए।
‘रोजगारी भनेको काम गरेको समय गनेर मात्र हुँदैन, त्यसबाट प्राप्त हुने आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्नुपर्छ,’ उनले भने।
ओलीले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादका आधारका रूपमा प्रस्तुत गरे। उनका अनुसार लोकतन्त्र राजनीतिक अधिकारमा मात्र सीमित हुनु हुँदैन, नागरिकका आर्थिक तथा सामाजिक अधिकारको सुनिश्चितता पनि उत्तिकै आवश्यक छ।
उनले जातीय आधारमा आरक्षणको विषयसमेत उल्लेख गर्दै नागरिकको आर्थिक अवस्था सुधार्ने, आम्दानी बढाउने र रोजगारीका अवसर विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
अध्यक्ष ओलीले प्रभावकारी नीति निर्माणका लागि समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी तथा विषयविज्ञसँग छलफल र परामर्श गर्नुपर्ने बताए। अनुसन्धानबिनाको नीति अनुमान र व्यक्तिगत धारणामा आधारित हुन सक्ने भन्दै उनले त्यसले अपेक्षित परिणाम दिन नसक्ने उल्लेख गरे।
उनका अनुसार विगतका अनुभवको समीक्षा, वर्तमान अवस्थाको विश्लेषण र भविष्यका आवश्यकताको पहिचानलाई एकीकृत गरेर नीति निर्माण गर्नुपर्छ। यसका लागि एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले विभिन्न क्षेत्रको अध्ययन गरी आवश्यक सुझाव र नीतिगत आधार तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न देशका विभिन्न क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी कहाँ, कस्तो सुधार आवश्यक छ भन्ने पहिचान गर्नुपर्नेमा ओलीले जोड दिए।









Facebook Comments