
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको दुबो पुनः रोप्ने र संरक्षण गर्दै हुर्काउने भएको छ। क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोपेर खुलामञ्चलाई पुनः हरियाली बनाउने तयारी पार्टीले गरेको हो।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माका अनुसार खुलामञ्चका दुबो बिग्रिएका स्थानमा नयाँ दुबो रोपिनेछ। रोपिएको दुबोको नियमित स्याहार र संरक्षण गरी हुर्काउने व्यवस्था पनि मिलाइने उनले बताएका छन्।
दुबो पुनः रोप्ने तथा त्यसको संरक्षण गर्ने कामका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र माउन्ट एभरेस्ट इभेन्ट्सबीच सम्झौता भएको छ। सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार खुलामञ्चमा दुबो रोप्ने, त्यसको स्याहार गर्ने र हुर्काउने काम डेढ महिनाभित्र सम्पन्न गरिनेछ। यस कार्यमा लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेसले नै व्यहोर्ने सहमति भएको छ।
महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको हरियाली पुनःस्थापना गर्न कांग्रेसले जिम्मेवारी लिएको हो। निर्धारित अवधिभित्र दुबो रोप्ने र त्यसलाई संरक्षण गर्ने काम सम्पन्न गर्ने योजना पार्टीले अघि सारेको छ।









Facebook Comments