काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित मधु आचार्यको सफलता पार्टीभित्र धेरैका लागि चासोको विषय बनेको छ। उम्मेदवारी घोषणाका बेला खासै चर्चामा नरहेका आचार्यले स्थापित नेताहरूलाई पछि पार्दै उपसभापतिमा बाजी मारेका हुन्।

उपसभापतिका दुई खुला पदका लागि चन्द्रकान्त भण्डारी, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ र दीपक गिरीजस्ता नेताहरू प्रतिस्पर्धामा थिए। तर, अन्तिम मतपरिणाममा आचार्यले निकटतम प्रतिस्पर्धी गोविन्द भट्टराईभन्दा ५९० मत बढी ल्याउँदै आफ्नो राजनीतिक प्रभाव देखाए।

ad

आचार्यको यो सफलता एकाएक प्राप्त भएको उपलब्धि नभएको उनीनिकट नेताहरूको भनाइ छ। उनी सार्वजनिक रूपमा कम चर्चामा रहे पनि कांग्रेसभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र नीतिगत रूपान्तरणको बहस अघि बढाउने अभियानमा लामो समयदेखि सक्रिय थिए। जिल्ला तहसम्म कार्यकर्ताका असन्तुष्टि र अपेक्षा पुर्‍याउनेदेखि विशेष महाधिवेशनको पृष्ठभूमि तयार पार्नेसम्मको उनको भूमिकाले अहिलेको सफलतामा आधार तयार गरेको देखिन्छ।

रूपान्तरण अभियानबाट सुरु भएको राजनीतिक उभार

कांग्रेसभित्र नेतृत्व र कार्यशैली परिवर्तनको बहसले औपचारिक आकार लिनुअघि नै आचार्य र गुरुराज घिमिरेलगायतका नेताहरूले पार्टी रूपान्तरणको आवाज उठाउन थालेका थिए। विराटनगरस्थित कोइराला परिवारको निवासमा भएको छलफलबाट अघि बढेको यस अभियानले पछि देशव्यापी रूप लियो।

‘नेपाली कांग्रेस रूपान्तरण अभियान’का नाममा पार्टीका नेता तथा कार्यकर्ताबीच बहस चलाउने र संगठनभित्रका समस्या पहिचान गर्ने प्रयास गरिएको थियो। अभियानमा देवराज चालिसे, सुवास पोखरेल, मनोजमणि आचार्य, जगदीश नरसिंह केसी, प्रकाश स्नेही रसाइली र रमेश धमलालगायतका नेताहरू पनि सहभागी भए।

२०८० जेठ ११ देखि प्रदेशस्तरीय कार्यक्रम सुरु गरिएको थियो। सातै प्रदेशका साथै विदेशमा रहेका कांग्रेस कार्यकर्तासम्म पुग्ने लक्ष्य राखिएको अभियानमा विभिन्न नेताले क्षेत्रगत जिम्मेवारी सम्हालेका थिए। मधेसमा रञ्जित कर्ण, काठमाडौंमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, कर्णालीमा भूपेन्द्र जङ्ग शाही, सुदूरपश्चिममा भरत खड्का र लुम्बिनीमा गोविन्दराज पोखरेलले अभियानको नेतृत्व गरेका थिए।

अभियानका क्रममा कार्यकर्ताले उठाएका प्रश्न र गुनासालाई पार्टी नेतृत्वसम्म पुर्‍याउन आचार्यसहितका नेताले २०८० जेठ ११ मा तत्कालीन सभापति शेरबहादुर देउवालाई पत्र बुझाएका थिए। पार्टीको जनाधार कमजोर हुँदै गएको, कार्यकर्ताको मनोबल घटेको र नेतृत्वले त्यसलाई सम्बोधन गर्न नसकेको उनीहरूको मुख्य चिन्ता थियो।

नेतृत्वसँग असहमति, परिवर्तनको एजेन्डामा निरन्तरता

रूपान्तरणको बहसलाई केन्द्रीय तहसम्म पुर्‍याउने क्रममा आचार्यसहितका नेताले २०८१ असोज १४ मा काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए। ‘चाल, चेहरा, चिन्तन र चरित्र बदलौँ’ भन्ने नारासहित अघि बढाइएको उक्त कार्यक्रमलाई विशेष महाधिवेशनतर्फको तयारीका रूपमा बुझिएको भन्दै तत्कालीन सभापति देउवाले असन्तुष्टि जनाएका थिए। उनले शेखर कोइराला र आचार्यलाई कार्यक्रम स्थगित गर्न आग्रहसमेत गरेका थिए।

तर आयोजकहरू आफ्नो तयारीबाट पछि हटेनन्। कोइराला कार्यक्रममा सहभागी नभए पनि तत्कालीन महामन्त्री गगन थापा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। यसले रूपान्तरण अभियानको बहसलाई थप राजनीतिक बल दिएको थियो।

त्यतिबेला कोइरालाले २०८२ मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका थिए। अभियानले उठाएका मुद्दालाई संस्थागत रूपमा अघि बढाउने विषयमा भने उनी र रूपान्तरण अभियानका नेताहरूबीच मतभेद बढ्दै गएको थियो।

जेन–जी आन्दोलनपछि कांग्रेसभित्र विशेष महाधिवेशनको मागले गति लियो। त्यसका लागि हस्ताक्षर अभियान सुरु हुँदा आचार्य र घिमिरेलगायतका नेता अग्रभागमा रहे। पछि गगन थापा र विश्वप्रकाश शर्माले अभियानको नेतृत्व सम्हाले। देउवा र कोइरालाको असहमतिका बाबजुद विशेष महाधिवेशन सम्पन्न भयो। त्यसबाट थापा सभापति र शर्मा उपसभापतिमा पुगे भने केन्द्रीय कार्यसमितिमा नयाँ अनुहारले पनि स्थान पाए। आचार्य भने केन्द्रीय सदस्यमा सीमित रहे।

पर्दापछाडिको भूमिका, नेतृत्वमा छलाङ

विशेष महाधिवेशनका बेला आचार्यको भूमिका सार्वजनिक मञ्चभन्दा संगठन व्यवस्थापनमा बढी केन्द्रित रहेको बताइन्छ। इन्जिनियरिङ पृष्ठभूमिका उनी काठमाडौंको भृकुटीमण्डपमा आयोजित महाधिवेशनको व्यवस्थापकीय तयारीमा महत्त्वपूर्ण भूमिकामा थिए।

यसपटक कांग्रेसमा पदाधिकारीको संख्या बढाएर पाँच उपसभापति बनाउने व्यवस्था गरिएपछि आचार्यले पनि उक्त पदमा प्रतिस्पर्धा गर्ने अवसर पाए। १४औँ महाधिवेशनमा दुई उपसभापति रहेकामा १५औँ महाधिवेशनमा संख्या बढाइएको थियो। वरिष्ठ उपसभापतिको पद विश्वप्रकाश शर्माका लागि छुट्याइएको थियो भने खुला दुई पदमा प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा भएको थियो।

आचार्यले आफ्नो विजयलाई वर्षौँदेखि चलाउँदै आएको रूपान्तरण अभियानको परिणामका रूपमा व्याख्या गरेका छन्।

‘पार्टी रूपान्तरण अभियानका क्रममा म नघुमेको गाउँ र जिल्ला थिएन। हरेक जिल्लाका मुख्य सहरहरूमा पुगेर साथीभाइसँग भेटघाट र अन्तरक्रिया गरेको छु,’ उनको भनाइ छ, ‘अहिलेको विजयलाई पनि त्यही रूपान्तरण अभियानकै प्रतिफल ठानेको छु।’

विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय नेतृत्वसम्म

मधु आचार्यको राजनीतिक यात्रा रूपान्तरण अभियानबाट मात्र सुरु भएको होइन। काभ्रेको पनौती नगरपालिका–११ बल्थलीका उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए। सिभिल इन्जिनियरिङ तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका आचार्य २०३५ सालदेखि राजनीतिमा संलग्न रहेको विवरण छ।

२०४६ सालको जनआन्दोलनका क्रममा उनी जेल परेका थिए भने २०६२/६३ को जनआन्दोलनका बेला पनि राज्यद्वारा बन्दी बनाइएका थिए। काभ्रे कांग्रेसको सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका आचार्यको जिल्लामा शिव हुमागाईंसँग लामो समयदेखि राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ।

यद्यपि, संसदीय निर्वाचनमा भने उनले अहिलेसम्म सफलता हासिल गर्न सकेका छैनन्। २०६४, २०७४ र २०८२ सालका निर्वाचनमा उनी पराजित भएका थिए। प्रत्यक्ष निर्वाचनमार्फत संसद् पुग्न नसके पनि पार्टी संगठनभित्रको निरन्तर सक्रियताले उनलाई केन्द्रीय नेतृत्वको तहसम्म पुर्‍याएको छ।

राजनीतिक निकटता फेरिँदै, रूपान्तरणको एजेन्डामा जोड

आचार्यले राष्ट्रपति हुनुअघि रामचन्द्र पौडेलसँग निकट रहेर काम गरेका थिए। पौडेल पार्टीको उपसभापति तथा नीति प्रतिष्ठानको संयोजक रहेका बेला आचार्यले प्रतिष्ठानको उपप्रमुखको जिम्मेवारी सम्हालेका थिए।

पौडेल राष्ट्रपति बनेपछि आचार्य शेखर कोइरालानिकट रहे। तर रूपान्तरण अभियानका मुद्दामा कोइरालाबाट अपेक्षित समर्थन नपाएको अनुभूति भएपछि उनी गगन थापाको नेतृत्वसँग नजिकिएको बताइन्छ। विशेष महाधिवेशनपछि थापाको नेतृत्वलाई संगठनात्मक आधार प्रदान गर्ने नेताका रूपमा पनि आचार्यको भूमिका महत्त्वपूर्ण मानिएको छ।

नीतिगत सुधार, पार्टीको कार्यशैली परिवर्तन र संगठनात्मक अध्ययनमा रुचि राख्ने आचार्य सार्वजनिक चर्चाभन्दा भित्री संगठनात्मक काममा बढी सक्रिय रहने नेताका रूपमा चिनिन्छन्। यही स्वभावका कारण उनी लामो समय कम चर्चामा रहे पनि पार्टीभित्र आफ्नो प्रभाव विस्तार गर्न सफल भएका देखिन्छन्।

विशेष महाधिवेशनको एजेन्डालाई नियमित महाधिवेशनको समर्थन?

आचार्यको उपसभापतिमा विजयलाई विशेष महाधिवेशनबाट अघि सारिएको रूपान्तरणको एजेन्डाले नियमित महाधिवेशनमा पनि निरन्तरता पाएको संकेतका रूपमा हेरिएको छ। विशेष महाधिवेशनको तयारीदेखि संगठनात्मक बहससम्म सक्रिय रहेका उनले आफ्नो जितलाई उक्त अभियानको राजनीतिक अनुमोदनका रूपमा लिएका छन्।

‘पार्टी रूपान्तरण अभियानदेखि विशेष महाधिवेशनसम्म हामीले जुन एजेन्डा अगाडि सार्‍यौँ, त्यसलाई नै यो नियमित महाधिवेशनले अनुमोदन गरेको छ,’ आचार्यले भनेका छन्, ‘यस हिसाबले विशेष महाधिवेशनको औचित्य सही थियो भन्ने पनि पुष्टि भएको छ।’

लामो समय संगठनभित्र रहेर काम गरेका आचार्यको उपसभापतिमा उदयले कांग्रेसभित्र सार्वजनिक लोकप्रियतासँगै संगठनात्मक सक्रियता र परिवर्तनको एजेन्डाले पनि नेतृत्व चयनमा भूमिका खेल्न सक्ने सन्देश दिएको छ। यद्यपि, उनको वास्तविक राजनीतिक प्रभाव अब पार्टीको नीति, संगठन र कार्यशैलीमा कस्तो परिवर्तन ल्याउन सक्छन् भन्ने विषयबाट मापन हुनेछ।