
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा आफू सधैँ समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता बिर्सेर भावनात्मक रूपमै एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन् ।
महामन्त्रीमा निर्वाचित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्ने पनि बताए । उनले लेखेका छन्– ‘‘राजनीतिक जीवनको आगामी यात्रामा तपाईंहरूकै साथमा रहेर र तपाईंहरूकै सल्लाह सुझावलाई शिरोधार्य गर्दै बलियो, गतिशील र एकताबद्ध पार्टी निर्माणको अभियानमा समर्पित रहनेछु।’
महामन्त्रीको जिम्मेवारी सुम्पिएकोमा महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै पौडेलले आफूहरूमाथि व्यक्त विश्वासलाई राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजी भएको बताए ।
‘१५ औँ महाधिवेशनको मञ्चबाट अभिव्यक्त मतले हामी सबै जना एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको छ, उनले लेखेका छन् । देशको जटिल अवस्था र ऐतिहासिक भूमिकालाई स्मरण गर्दै वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने समयसापेक्ष पार्टी आजको आवश्यकता रहेको उनले औँल्याएका छन्।
पौडेलले ‘नेपाली कांग्रेसलाई आम नागरिकको सुख दुःखको साथी बनाउँदै, जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी र भरोसायोग्य शक्तिमा रूपान्तरण गर्नु नै हाम्रो अबको मूल बाटो भएको उल्लेख गरेका छन् ।









Facebook Comments