काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले समयसापेक्ष राजनीति आजको आवश्यकता भएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उपसभापति आचार्यले जनताका अपेक्षा पूरा गर्न सक्ने ऊर्जाका साथ पार्टी अगाडि बढ्नुपर्ने र त्यसप्रति आफूहरू पूर्ण रूपमा सचेत रहेको बताए । कांग्रेस इतिहासको गर्विलो अनुभव र आधुनिक समयको सुधार, सुशासन तथा सचेतना बोकेको पार्टी भएको बताउँदै उनले कांग्रेसले कठिन घडी पार गर्दै पार्टी हालै १५ औँ महाधिवेशन सम्पन्न गरेर अघि बढेको प्रष्ट पारे ।

ad

‘इतिहासको गर्विलो अनुभव र आधुनिकभन्दा आधुनिक राजनीतिले रोजेको सुधार, सुशासन र सचेतना नेपाली कांग्रेससँग छ,’ उनले भने, ‘अतः विगत र वर्तमान दुवै कांग्रेस हो र भविष्य पनि कांग्रेस नै हो’, उनले भने । 

त्यस्तै, वर्तमान संविधान राजनीतिक सहमति र सन्तुलनको दस्तावेज भएकाले यसको संशोधन गर्दा सदनभित्र र बाहिर रहेका सबै राजनीतिक दलहरूसँग संवाद गरी साझा दस्तावेजका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

साथै, नेपाली कांग्रेसमा सम्पूर्ण रूपले रूपान्तरण हुन अझै बाँकी रहेको स्वीकार गर्दै उनले भने, ‘हामीले शुद्धीकरणको बाटो आफैँभित्र खोजेका छौँ।’