नेपाली राजनीति यतिबेला अत्यन्तै तरल, अनिश्चित र वैचारिक रूपमा दिशाहीन बन्दै गइरहेको छ । सिद्धान्त, मूल्य र राजनीतिक निष्ठाभन्दा तत्कालीन अंकगणित, सत्ताको जोडघटाउ र क्षणिक लोकप्रियतावादले प्राथमिकता पाउँदै जाँदा मुलुकका पुराना र ऐतिहासिक पार्टीहरू दिशाहीन देखिन थालेका छन् । बिपी कोइरालाको ऐतिहासिक प्रजातान्त्रिक समाजवादको जगमा उभिएको नेपाली कांग्रेसभित्र पनि आज गहिरो आन्तरिक रूपान्तरण, पुस्तान्तरण र वैचारिक स्पष्टताको आवश्यकता खड्किएको छ । आमनागरिकमा देखिएको निराशा, युवाहरूको विदेश पलायन र नयाँ राजनीतिक शक्तिहरूको उदयले पुराना राजनीतिक दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारेको छ । यही पेचिलो, जटिल र संवेदनशील राजनीतिक पृष्ठभूमिमा नेपाली कांग्रेसका युवानेता, लेखक तथा विश्लेषक शंकर तिवारीसँग ‘देशान्तर साप्ताहिक’का लागि गरिएको कुराकानीको सम्पादित अंश :

 

ad

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको नतिजा आइसकेको छ, अरू मतगणना चलिरहेको छ । अबचाहिँ कांग्रेस कस्तो हुन्छ ?

नेपाली कांग्रेसको इतिहास हेर्दाखेरि दुइटा कांग्रेस (नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेस) मिलेर नेपाली कांग्रेस बनेपछि, पार्टीमा जहिले पनि दुईजना नेताहरू–विशेषगरी बिपी कोइराला र सुवर्णशमशेरको ‘फाइन ट्युनिङ’मा काम भयो । उहाँहरूको एकदमै उचित समन्वयमा काम भयो । त्यसले एउटा राम्रो परिणाम पनि दियो, २०१७ सालसम्म पुग्दाखेरि बिपीले सुवर्णशमशेरलाई मन्त्रिपरिषद्को अध्यक्ष पनि बनाइदिनुभयो, सुवर्णशमशेर पार्टी सभापति हुनुभयो ।

र, त्यसपछि अत्यन्त ‘फाइन ट्युनिङ’मा काम गर्ने सम्भावना भएको नेताचाहिँ अहिले गगन थापा र विश्वप्रकाश शर्मा देखिनुभएको छ । गगन थापा र विश्वप्रकाश शर्माको कार्यगत एकता जसरी भयो, त्यसले एउटा मार्गप्रशस्त गरेको छ र त्यसैको कन्टिन्युटी अहिले नियमित १५औँ महाधिवेशनमा पनि भएको छ । यो जुगलबन्दीले एक किसिमको सकारात्मक सन्देश दिएको छ, जसलाई मैले बिपी र सुवर्णशमशेरको जुगलबन्दीसँग तुलना गर्छु ।

यसका साथै, विशेष महाधिवेशनमा जुन नीति लिइयो–यथास्थितिवादी र अप्रगतिशील कांग्रेसलाई प्रगतिशील, परिवर्तनकारी र गतिशील पार्टी बनाउने नीतिगत निरन्तरता नै हो ।

महाधिवेशनमा पारित भएका सांगठनिक प्रतिवेदन र सभापतिको प्रतिवेदन पूरै हेरेपछि प्रश्न उठ्छ : गगन थापाले डकुमेन्टमा तलमाथि गर्नुभयो । उहाँ पहिले सामाजिक लोकतन्त्र र समाजवादका कुरा गर्नुहुन्थ्यो, अहिले फेरि लोकतान्त्रिक समाजवाद भन्नुहुन्छ । के यो शब्दजाल मात्र हो ? यसमा यहाँको विश्लेषण के छ ?

पहिलो कुरा, मूल विषय के हो भने नेपाली कांग्रेस विधिवत् रूपमा कहिले समाजवादी पार्टी भएको हो ? २०१२ सालको जनकपुर महाधिवेशनमा नेपाली कांग्रेस विधिवत् रूपमा समाजवादी पार्टी घोषणा भएको हो । त्यहीअनुसारको कार्यक्रम हामीले २०१५ सालको प्रथम आमनिर्वाचनको घोषणापत्रमा लेख्यौँ र सरकारमा जाँदा लागू पनि गर्‍यौँ । त्यसपछि १८ महिनामै जननिर्वाचित सरकार विघटन भएपछि हामी लामो समय–झन्डै ३० वर्ष–प्रतिपक्ष र संघर्षमा रह्यौँ । २०४८ सालमा दोस्रो जनमतपछि बनेको सरकारको बेलासम्म आइपुग्दा ३०–३५ वर्षअघिको कार्यक्रम र स्थितिमा धेरै कुरा बदलिइसकेको थियो । त्यतिबेला हामीले नीतिगत काममा व्यवहारतः ‘डिपार्चर’ गरे पनि लिखित दस्ताबेजमा त्यो ‘डिपार्चर’ स्पष्ट रूपमा गरेका थिएनौँ । जसरी बेलायतमा क्लिमेन्ट एटलीको समयको नीति टोनी ब्लेयरको समयमा आएर फेरियो र टोनी ब्लेयरपछिका नेताहरूले बदल्ने कोसिस गरे, हाम्रोमा पनि बिपीको समयको कुरा गिरिजाप्रसादको समयमा र गिरिजाप्रसादको समयको कुरा गगन थापाको समयमा फेरिनु स्वाभाविक हो । त्यहाँ निश्चित मूल मूल्य–मान्यताहरू एउटै रहन्छन्, तर समयको बदलावसँगै चारवटा कुराहरू फेरिन्छन् ः उत्पादनको स्रोत के हो ? देशको अर्थतन्त्र कस्तो छ ? विश्व भूराजनीति कस्तो छ ? सञ्चारका माध्यमहरू के हुन् ?

यी चार कुराले समग्र नीतिलाई गाइड गर्छन् । त्योअनुसारको परिमार्जन र निरन्तरतामा के–के नवीनता थपेको हो भनेर व्याख्या गर्नैपथ्र्यो । गगन थापाले २०७८ को १४औँ महाधिवेशनमा महामन्त्री उठ्दा ‘सामाजिक लोकतन्त्र’को कार्यक्रम लिएर आउनुभएको थियो, जसको वर्किङ स्लोगन ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ थियो । तर विशेष महाधिवेशनको विशिष्ट परिस्थितिमा उहाँले ‘समुन्नत नेपाल’को कुरा त गर्नुभयो, तर सामाजिक लोकतन्त्र र प्रजातान्त्रिक समाजवाद भन्ने शब्द स्पष्ट रूपमा उल्लेख भएन । त्यसले गर्दा धेरैलाई ‘कांग्रेस सामाजिक लोकतन्त्रतिर मात्रै गयो कि’ भन्ने भ्रम पर्‍यो ।  रोचक कुरा के छ भने, गगन थापाले २०७८ मा महामन्त्री निर्वाचित भएपछि पनि पार्टीको औपचारिक फोरममा ‘सामाजिक लोकतन्त्र’को कार्यक्रमलाई आधिकारिक रूपमा पेस गर्नुभएको थिएन । र अहिले पछिल्लोपटक उहाँले पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवाद’ नै हुन्छ, यसमा कुनै भ्रम छैन भनेर प्रस्ट पार्नुभएको छ । दस्ताबेजमा ‘प्रो–मार्केट’, ‘प्रो–डेभलपमेन्ट’जस्ता केही ‘क्याची’ नाराहरू दिइएको छ । यसरी हेर्दा बिपीको पालाको मूल सिद्धान्तलाई कायम राखेर त्यसका कार्यनीतिक नारा र कार्यक्रमहरूलाई समयसापेक्ष फेर्न खोजेको देखिन्छ ।

१४औँ महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मको यो अवधिमा राष्ट्रिय परिस्थिति र पार्टीको स्थिति एकदमै भिन्न भइसकेको छ । अहिले राष्ट्रिय मनोविज्ञान खलबलिएको बेला छ, त्यसैगरी हाम्रो पार्टीको मनोविज्ञान पनि खलबलिएको छ । कार्यकर्तामा हतास, निराशा, आक्रोश पनि छ र थोरै आशा पनि छ । देशभित्र रोजगारी नहुनु, आन्तरिक बसाइँसराइ र सामाजिक सञ्जालको अस्वस्थ प्रतिस्पर्धाजस्ता विषय छन् ।

 

१४औँ महाधिवेशनमा कांग्रेस देशको मुख्य शक्ति थियो, सरकार चलाइरहेको थियो । तर अहिले दोस्रो शक्ति र प्रतिपक्षमा छ । यो पृष्ठभूमिमा अब कांग्रेस कसरी अघि बढ्छ ? यसको भिजन र मिसन के हुनुपर्छ ?

तपाईंले एकदमै सही परिवेश औँल्याउनुभयो । अहिलेको समग्र स्थितिलाई राष्ट्रिय मनोविज्ञान र पार्टीको आन्तरिक मनोविज्ञान दुवै कोणबाट हेर्नुपर्छ । भदौ २३ र २४ गतेको घटनाक्रमपछि राष्ट्रिय राजनीति र सामाजिक ढाँचामा जे–जस्ता उथलपुथल भए, त्यसको परावर्तन राजनीतिक दलहरूमा पनि परेको छ । १४औँ महाधिवेशनको बेला कांग्रेस एउटा निरन्तरताबाट आएको पार्टी थियो । तर बीचमा विशेष महाधिवेशनको जुन घटनाक्रम भयो, त्यसले एउटा राजनीतिक क्रमभंगता ल्यायो । त्यो जटिल प्रक्रियाबाट गुज्रिँदा एउटा पक्षले झन्डै ४५–५० प्रतिशत सहभागिता नगर्ने वा बहिष्कार गर्ने स्थितिसम्म बन्यो । त्यसैले १४औँ महाधिवेशनको पृष्ठभूमि र १५औँ महाधिवेशनको पृष्ठभूमिमा आकाश–जमिनको फरक छ । १५औँ महाधिवेशनको मुख्य उपलब्धि के हो भने, यसले प्रजातान्त्रिक समाजवादको आर्थिक फ्रन्ट र कार्यक्रमहरू के हुन् भन्ने कुरा स्पष्ट बताउन खोजेको छ । अर्को महत्त्वपूर्ण कुरा, यो महाधिवेशन विशेष परिस्थितिमा भएको छ । नेपाली कांग्रेसको इतिहासमा २०१४ सालमा विशेष महाधिवेशन गर्दा तत्कालीन निर्वाचित कार्यसमितिले पूरा तीन वर्ष बिताएको थियो र त्यसपछि मात्र बिपी कोइरालाले सातौँ महाधिवेशन गर्नुभएको थियो । अहिले हाम्रो विधानमा विशेष महाधिवेशनको समय–अवधि र म्यान्डेटबारे स्पष्ट व्यवस्था नहुँदा केही अन्योल देखिएकै हो । तर गगन थापाले ‘हामीले नयाँ केन्द्रीय कार्यसमिति ल्याएर एक–डेढ वर्षभित्रै महाधिवेशन गर्छौं’ भनेर प्रतिबद्धता जनाउनुभयो र अदालतका मुद्दा–मामिला र आन्तरिक वैधानिकतालाई सम्बोधन गर्दै यो प्रक्रिया पूरा गरिएको छ ।

 

७० देखि ७२ प्रतिशत मतदाता नयाँ हुनुहुन्थ्यो । तपाईंले महाधिवेशन प्रतिनिधिहरूको मनोविज्ञान कस्तो पाउनुभयो ?

तपाईंले भन्नुभएजस्तै ७० देखि ७२ प्रतिशत भोटरहरू बिल्कुल नयाँ हुनुहुन्थ्यो । यो ठुलो सांगठनिक फेरबदल हो । राजनीतिक मनोविज्ञानको कुरा गर्दा, जब पार्टी सत्तामा हुँदैन, तब कार्यकर्तामा विचार र निष्ठाप्रति बढी आकर्षण हुन्छ । सत्तामा हुँदा जसरी पनि अवसर र पद लिने होडबाजी हुन्छ, तर प्रतिपक्षमा हुँदा सैद्धान्तिक स्पष्टता खोजिन्छ । अहिलेका शीर्ष नेताहरू पनि सत्तापक्षसँग लेनदेन गरेर सम्झौता गर्ने पक्षमा देखिनुभएन । त्यसैले बुद्धिजीवी र निष्ठावान् कार्यकर्ताले बौद्धिक कोणबाट हस्तक्षेप गर्ने यो उपयुक्त समय थियो । र सबैभन्दा महत्त्वपूर्ण कुरा, कांग्रेसले ३५ वर्षमुनिका २१ जना युवालाई औपचारिक रूपमा केन्द्रीय कार्यसमितिमा स्थान दिने जुन निर्णय गर्‍यो, त्यो अत्यन्तै दूरगामी निर्णय हो । यसले पार्टीलाई कम्तीमा १५–२० वर्ष गाइड गर्ने नयाँ फोर्स तयार गर्छ । चाहे ती कांग्रेस पृष्ठभूमि भएका परिवारबाट आएका हुन् वा नयाँ पुस्ताका, उनीहरूलाई वडा तहदेखि केन्द्रसम्म प्रवेश गराउनु ठुलो उपलब्धि हो ।

 

तर नेविसंघ र तरुण दललाई कांग्रेसको नर्सरी भन्दै आइएको थियो । यदि ३५ वर्षमुनिका व्यक्तिहरू सिधै केन्द्रीय कार्यसमितिमा आइहाल्ने हो भने त ती नर्सरीहरू काम नलाग्ने भए, अब युवाहरूले किन नेविसंघ वा तरुण दलको राजनीति गर्छन् ?

यो बहस उठ्नु स्वाभाविक हो । तर ६२–६३ को जनआन्दोलनपछि हामीले जसरी समावेशी र समानुपातिक विधान बनायौँ, भाद्र २३–२४ को झड्का र उथलपुथलपछि विधान नै बदलेर कार्यकारी संरचनामै युवाहरूको सुनिश्चित प्रतिनिधित्व गराउने साहसी निर्णय नेपाली कांग्रेसले नै गरेको हो । नेविसंघको पृष्ठभूमिबाट आएका वा जेनजी मुभमेन्टपछि जोडिएका युवाहरूलाई सिधै कार्यकारी तहमा ल्याउनु सकारात्मक कदम हो । मानिसले ‘लर्निङ बाई डुइङ’ (काम गर्दै सिक्दै) जाने हो । बिपी कोइरालाले पार्टी खोल्दा वा सरकार चलाउँदा पनि सबै कुरा जानेर आउनुभएको थिएन । केन्द्रीय समितिमा सिनियर नेताहरू हुनुहुन्छ, पदाधिकारीहरू अनुभवी हुनुहुन्छ ; उहाँहरूसँगै बसेर काम गर्दा नयाँ युवाहरूले पार्टीको मूल्य, पद्धति, इतिहास र शास्त्र सिक्छन् । यसले उनीहरूलाई पार्टी र देशप्रतिको दायित्व महसुस गराउँछ । त्यसैले म यसलाई नर्सरीको अन्त्यभन्दा पनि नयाँ पुस्ताको द्रुत गतिमा ‘इन्डक्ट्रिनेसन’ र नेतृत्व विकासको सुरुवातको रूपमा हेर्छु ।

 

अस्ति सभापतिज्यूले भाषणमा ‘८० प्रतिशत काम र २० प्रतिशत पार्टी’ भन्दै हुनुहुन्थ्यो, अहिलेको अवस्थामा नेपाली राजनीतिमा ‘होल–टाइमर’ (पूर्णकालीन) कार्यकर्ताको आवश्यकता छ कि छैन ? 

हामी क्याडर–बेस्ड (कार्यकर्तामा आधारित) र मास–बेस्ड (जनआधारित) पार्टीको बीचमा छौँ । मूलतः कांग्रेस ‘मास–बेस्ड’ पार्टी नै हो । आठ–नौ लाख क्रियाशील सदस्य भएकाले क्याडर–बेस्डजस्तो पनि देखिन्छ । नेपाली कांग्रेसको मुख्य ‘ड्राइभिङ फोर्स’ भनेको राष्ट्रिय एजेन्डाको नेतृत्व गर्नु हो । जुन दिन कांग्रेसले राष्ट्रिय मुद्दा र एजेन्डाको नेतृत्व गर्छ, त्यो दिन नेपाली राजनीति ठीकठाक चल्छ । जुन दिन पार्टी राष्ट्रिय मुद्दा छाडेर आन्तरिक भागबन्डा र व्यवस्थापनमा मात्रै अल्मलिन्छ, त्यसपछि पार्टी पछाडि पर्छ । क्रियाशील सदस्यताको कुरा गर्ने हो भने, २०६४–६५ पछि १२औँ महाधिवेशनयता हामीले जथाभावी क्रियाशील सदस्यता वितरण गर्‍यौँ । पहिले जिल्ला र क्षेत्रीय सभापतिको सिफारिसमा सीमित रूपमा बाँडिने क्रियाशील सदस्यता वडा समितिहरूलाई नै सोझै बाँड्ने अधिकार दिइयो । त्यसले विकृति ल्यायो । आज थुप्रै वडाहरूमा जति क्रियाशील सदस्य छन्, उति भोट पनि स्थानीय वा आमनिर्वाचनमा हाम्रो उम्मेदवारलाई आउँदैन । त्यसैले संगठनको संरचना चुस्त–दुरुस्त र सानो बनाउनुपर्छ । धेरै मानिसलाई केवल सदस्यता बाँडेर पार्टी बलियो हुँदैन । पार्टी क्याडर–बेस्ड बनोस् या मास–बेस्ड, त्यसको मुख्य नेताले कसरी राष्ट्रिय आवाज सम्प्रेषित गर्छ र माससँग कनेक्ट हुन्छ, त्यो नै निर्णायक कुरा हो ।

 

अब राष्ट्रिय राजनीतिमा कांग्रेसले आफूलाई कहाँ उभ्याउँछ ? अब कांग्रेसले गर्नुपर्ने मुख्य काम के हो ?

कांग्रेसको अबको मुख्य कार्यभार भनेको महाधिवेशनबाट प्राप्त ऊर्जालाई तल्लो तहसम्म पुर्‍याउनु हो । नयाँ टिम सानेपा मुख्यालयमा प्रवेश गरेपछि हामीले पारित गरेका राजनीतिक र आर्थिक कार्यक्रमलाई गाउँ–जिल्लाका कार्यकर्तासम्म पुर्‍याउनुपर्छ । हाम्रा कार्यकर्ताले दस्ताबेज पढ्नुपर्‍यो, बुझ्नुपर्‍यो र जनतालाई बुझाउन सक्नुपर्‍यो । विशेष महाधिवेशनपछिको केही समय पार्टीमा जुन अन्योल देखियो, त्यो बाहिरबाट हेर्दा उचित देखिँदैनथ्यो । अब ढोका खुला राखेर सबै पक्षलाई समेट्दै स्पष्ट रोडम्याप तयार गर्नुपर्छ ।

महाधिवेशनमा झन्डै ९० प्रतिशतको सहभागिता रह्यो । तर १० प्रतिशत अझै वडा तहको अधिवेशनतिर केन्द्रित छौँ भन्छन् । भविष्यमा अदालतबाट केही अप्ठ्यारो पर्छ कि भन्ने शंका कार्यकर्तामा छ । यसमा के भन्नुहुन्छ ?

नेपाली कांग्रेस अदालतमा मुद्दा हालेर वा तारिख धाएर बनेको पार्टी होइन । यो पार्टी जनआन्दोलन, क्रान्ति र मैदानबाट आएको पार्टी हो । बिपी कोइरालाले कुनै बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई देखाएर ‘कांग्रेसको भविष्य र मूलधार यो हो’ भन्नुभएजस्तै, २०६२–६३ को आन्दोलन वा २०७२ को संविधान जारी भएपछिको कांग्रेसको मूलधार कुन हो ? भन्दा जो त्यो आन्दोलनका चरित्र नायकहरू हुन्–गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल–उहाँहरू जहाँ हुनुहुन्छ, कांग्रेसको मूलधार त्यही हो ।

हामीले १४औँ महाधिवेशनमा नवीकरण गरेका साढे आठ लाख सदस्यमध्ये बहुसंख्यक यसै प्रक्रियामा सामेल छन् । सर्वोच्च अदालतले पनि समसामयिक संविधान, नियम र निर्वाचन आयोगको भूमिकाअनुसार अधिवेशन गराउने अनुमति दिएको हो । त्यसैले अदालतको मुद्दाले मूलधारलाई असर पार्दैन । बहिष्कार गर्ने वा असन्तुष्ट पक्ष पनि ढिलो–चाँडो यही मूलधारमै फर्किन्छ भन्नेमा म विश्वस्त छु ।

तर यो कार्यसमिति त एकदमै जम्बो (अत्यधिक ठुलो) भयो नि ! यत्रो ठुलो कार्यसमितिले पार्टी कसरी चल्छ ?

कार्यसमितिको आकार ठुलो भयो भनेर पदाधिकारीको संख्या थप्नेबित्तिकै मैले पनि सार्वजनिक रूपमा प्रश्न उठाएको थिएँ । त्यसको भोलिपल्टै पार्टी सभापतिले बन्दसत्रमा स्पष्टीकरण दिँदै ‘आजको विशिष्ट परिस्थितिमा धेरै साथीहरूलाई समेट्नुपरेकाले यो निर्णय लिनुपरेको हो’ भन्नुभएको छ । मेरो स्पष्ट मान्यता छ कार्यसम्पादन वा काम गर्ने समिति सानो हुनुपर्छ । यसको अर्थ सिनियर नेताहरूको अपमान गर्ने भन्ने होइन, तर व्यावहारिक काम सानो र चुस्त निकायबाटै हुनुपर्छ । कार्यसम्पादन समितिले चुस्त रूपमा काम गर्ने र केन्द्रीय कार्यसमितिको बैठक निश्चित समयमा नीतिगत निर्णयका लागि मात्र बस्ने परिपाटी बसाल्नुपर्छ ।

अबको कार्यसमितिमा आउने युवाहरू र नयाँ टिमको भूमिका कस्तो रहला ?

१४औँ महाधिवेशनमा पनि कुन्दनराज काफ्ले, जितजंग बस्नेतजस्ता धेरै युवा आउनुभएको थियो । उहाँहरूले पार्टीमा कसैको अन्धभक्त भएर आदेश मात्र पालना गर्नुभयो त ? गर्नुभएन । अहिले आएका २१ जना युवा (३५ वर्षमुनिका) र अरू युवाहरूले पार्टीको नेतृत्वलाई रचनात्मक र आलोचनात्मक दुवै चेतका साथ हेर्छन् । उहाँहरूले केवल नेतृत्वको लाइनमा ‘सरेन्डर’ गर्दैनन्, क्रिएटिभ रूपमा सोच्छन् । बिपी र सुवर्णको समयमा उहाँहरूले निर्णय गरेपछि अरूको खासै फरक मत हुँदैनथ्यो । तर अहिले गगन थापा र विश्वप्रकाश शर्माले निर्णय गर्दा कार्यसमितिमा आउने युवा तथा अन्य सदस्यहरूले कत्तिको फरक मत राख्छन् र नेतृत्वलाई सही बाटोमा राख्छन्, त्यो हेर्न बाँकी छ । आगामी ५–६ महिनाभित्र कांग्रेसले सडक र सदनमा खेल्ने भूमिकाले धेरै कुरा स्पष्ट पार्नेछ ।

वर्तमान सरकारको कामकारबाहीलाई प्रतिपक्षको रूपमा कांग्रेसले कसरी समीक्षा गर्छ ?

सरकार बनेको १०० दिन कटिसक्दा पनि डेलिभरीमा सरकार पूर्ण रूपमा असफल देखिएको छ । सरकारको उपस्थिति साँझपख प्रधानमन्त्रीको सामाजिक सञ्जालको पोस्ट हेरेर बस्नेबाहेक खासै केही देखिएको छैन । बाढीपहिरो र प्राकृतिक विपद्को समयमा केही उद्धारका कामबाहेक आमजनताले राहत पाउनेगरी सरकारले काम गर्न सकेको छैन । सरकारले प्रतिपक्षलाई पनि ठोस विषयमा इन्गेज गराएको छैन । त्यसैले अब कांग्रेसले संसद् र सडक दुवै माध्यमबाट सबल, इमानदार र आक्रामक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ ।

 

विशेष महाधिवेशनमा सहभागी भएका तर चुनावमा पराजित भएका साथीहरूको स्थिति र सन्देशबारे के भन्नुहुन्छ ?

महाधिवेशनमा लाइनमा बस्दा र भोट हाल्दा ‘विशेषको लाइन जोगाउनुपर्छ’ भन्ने भावना आमप्रतिनिधिमा थियो, त्यो मैले पनि फिल गरेको थिएँ । चुनावमा प्राविधिक रूपमा कोही जित्छन्, कोही हार्छन् । तर जुन साथीहरूसँग पार्टी र राज्यका विभिन्न अंगहरूमा काम गरेको अनुभव छ, उहाँहरूलाई सांगठनिक शैलीमा सँगै लिएर जानुपर्छ । उहाँहरूको अनुभव पार्टी चलाउन अपरिहार्य छ ।

अहिले १२औँ, १३औँ, १४औँ महाधिवेशनजस्तो प्यानल बनाएर आधिकारिक चिट बाँड्ने काम भएन, जुन सकारात्मक कुरा हो । अब पार्टी सभापति र समग्र नेतृत्वले सबैलाई समेटेर, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै प्रतिपक्षी भूमिकालाई सशक्त बनाउनुपर्छ ।

असोज २५ गते आइतबार देशान्तर साप्ताहिकमा प्रकाशित