काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी विनिता खड्कालाई थुनामुक्त गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी खड्कालाई सोमबार जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रिहा गर्न आदेश दिएको हो।

ad

प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरेकोमा सुनुवाइपछि उनलाई थुनामुक्त गर्न आदेश आएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा खड्कालाई पक्राउ गरेको थियो। सीआईबीकी एआईजी उमा चतुर्वेदीले उनको पक्राउबारे जानकारी दिएकी थिइन्।

खड्का कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवारसमेत हुन्। उनको मतदान भइसकेको भए पनि मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको थियो।

यसै प्रकरणमा प्रहरीले यसअघि ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पनि पक्राउ गरेको थियो।

अदालतको आदेशसँगै खड्कालाई थुनामा राखेर अनुसन्धान गर्ने प्रहरीको प्रयास अघि बढ्न नसक्ने भएको छ।