ललितपुर ।नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्न सरकारलाई सुझाव दिएको छ। दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउँदै भ्रमणबाट ठोस उपलब्धि हासिल गर्नुपर्ने काँग्रेसको भनाइ छ।

पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै मङ्सिर ६ गतेदेखि सुरु हुने प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको सर्वोत्तम राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।

ad

काँग्रेसले प्रधानमन्त्रीको भ्रमणलाई सफल र परिणाममुखी बनाउन भारतसँगको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र सम्भावित उपलब्धिका विषयमा पार्टीभित्र छलफलसमेत गरेको जनाएको छ। प्रमुख प्रतिपक्षी दलको हैसियतमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्श गरिएको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उक्त छलफलमा जलवायु परिवर्तन, हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता र सीमा व्यवस्थापनलगायत विषयलाई प्राथमिकताका साथ उठाइएको काँग्रेसले जनाएको छ। त्यस्तै, सीमावर्ती क्षेत्रका नागरिकका समस्या तथा भारतमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका कठिनाइबारे पनि छलफल भएको थियो।

काँग्रेसले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। दुई देशबीचको सम्बन्धमा रहेका सम्भावना, अवसर र व्यावहारिक चुनौतीबारे पार्टीसँग लामो संस्थागत अनुभव तथा स्पष्ट दृष्टिकोण रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री शाह राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेकाले राष्ट्रिय महत्त्वका विषयमा सबै पक्षसँग पर्याप्त परामर्श र साझा समझदारी आवश्यक रहेको काँग्रेसको धारणा छ। राष्ट्रिय सरोकारका विषयमा मुलुकभित्र एकमत बनाउन सके अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान थप बलियो हुने पार्टीले जनाएको छ।

भ्रमणका क्रममा विगतमा भएका सहमति तथा प्रतिबद्धताको कार्यान्वयनलाई प्राथमिकता दिन पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ। नेपाल र भारतबीच लामो समयदेखि कायम रहेका समस्याको व्यावहारिक समाधान खोज्दै दुवै देशको हित हुने गरी दीर्घकालीन सहकार्यका नयाँ आधार तयार गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

काँग्रेसले राष्ट्रिय हितको संरक्षण र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढीकरणप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट रहेको जनाउँदै प्रधानमन्त्रीको भ्रमण सफलताको कामनासमेत गरेको छ। भ्रमणको उपलब्धि नेपालको हितसँग जोडिने उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको सफलता नेपालको सफलतासँग सम्बन्धित रहेको बताएका छन्।