
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयबाट सशस्त्र प्रहरी बल (एपीएफ) का सुरक्षाकर्मी फिर्ता गरिएको एमालेले दाबी गरेको छ। तर, एपीएफले भने पार्टी कार्यालयमा सुरक्षाकर्मी खटाइएको भन्ने दाबी अस्वीकार गरेको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यालयमा नियमित सुरक्षाका लागि खटिँदै आएको सशस्त्र प्रहरीको टोली सोमबार बिहानदेखि हटाइएको हो। उनका अनुसार यसअघि करिब पाँच जना सशस्त्र प्रहरी कार्यालय परिसरमा २४ सै घण्टा सुरक्षामा रहने गरेका थिए।
यद्यपि, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्र कार्कीले एमालेको केन्द्रीय कार्यालयमा सुरक्षा दिन सुरक्षाकर्मी खटाइएको भन्ने कुरा नै गलत भएको बताएका छन्। पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गर्ने कुनै निर्धारित कार्यविधि नरहेको उनको भनाइ छ।
कार्कीका अनुसार संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती गर्ने क्रममा सुरक्षाकर्मी कुनै कार्यालय वा परिसरमा पुगेको हुन सक्ने भए पनि त्यसलाई औपचारिक सुरक्षा तैनाथीका रूपमा बुझ्न नमिल्ने बताए।
यसैबीच, गृह मन्त्रालयले चार दिनअघि सुरक्षा निकायहरूलाई कार्यविधिविपरीत विभिन्न स्थानमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र आफ्नै दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको थियो।
मन्त्रालयले निर्धारित प्रक्रिया र कार्यविधि उल्लङ्घन गरी सुरक्षाकर्मी परिचालन गरेको पाइएमा त्यसका लागि जिम्मेवार अधिकृत तथा पदाधिकारीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको थियो।
गृह मन्त्रालयको निर्देशनपछि एमाले कार्यालयबाट सुरक्षाकर्मी फिर्ता गरिएको हो वा होइन भन्ने विषयमा एमाले र सशस्त्र प्रहरी बलका अधिकारीहरूका भनाइ भने परस्पर विरोधी देखिएका छन्।









Facebook Comments