काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र मोर्चाबन्दी भइरहेको दाबी गर्दै त्यसको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको बताएका छन्।

पार्टी कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै ओलीले विगतमा जस्तै अहिले पनि एमालेविरुद्ध विभिन्न प्रयास भइरहेको जिकिर गरे। यस्तो परिस्थितिको सामना गर्न पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

ad

ओलीले समाजवादको आन्दोलन समाप्त पार्ने सोच राख्नु मूर्खता भएको टिप्पणी गरे। देश र जनताको हितका साथै समाजमा न्याय, शान्ति र लोकतन्त्रको संरक्षणका लागि पनि समाजवादको आन्दोलन आवश्यक रहेको उनले बताए।

उनले आगजनी र लुटपाटलाई आन्दोलनको संज्ञा दिन नसकिने धारणा राख्दै संगठित शक्तिले प्रतिवादमार्फत गर्ने आन्दोलनमा आफूहरूको जोड रहेको स्पष्ट पारे।

लोकतन्त्रमाथि खतरा उत्पन्न गर्ने गतिविधि भइरहेको आरोप लगाउँदै ओलीले त्यसको रक्षाका लागि आवश्यक परे आन्दोलनमा उत्रिन सकिने संकेतसमेत गरे।

सम्बोधनका क्रममा उनले २०७७, २०७८ र २०८० सालमा पनि एमालेमाथि घेराबन्दी भएको दाबी गरे। त्यसबेला पार्टीका नेताहरूलाई तितरबितर पार्ने प्रयास भए पनि आफूहरूले पार्टीलाई पुनर्गठन गरेर अघि बढाएको उनले बताए।

'हामीमाथि अहिले पनि घेराबन्दी चलिरहेको छ,' ओलीले भने, 'अहिले पनि हाम्राविरुद्ध त्यस्तै मोर्चाबन्दी भइरहेको छ।'

उनले पार्टीमाथि भइरहेको भनिएको घेराबन्दीको सामना गर्दै लोकतन्त्र र समाजवादको पक्षमा राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए।