काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना तीव्र पारिएको छ। मतगणनालाई छिटो सम्पन्न गर्ने उद्देश्यले पार्टीको केन्द्रीय कार्यालय सानेपामा एकैपटक २३ स्थानमा मतगणना भइरहेको छ।

सभापतिसहित प्रमुख पदाधिकारीको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी समूहका केन्द्रीय सदस्य पदको मतगणनामा ध्यान केन्द्रित गरेको हो। पद र समूहअनुसार छुट्टाछुट्टै टोली परिचालन गरेर गणना अघि बढाइएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

ad

उनका अनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना पाँच स्थानमा भइरहेको छ। प्रवासस्थित नेपाली जनसम्पर्क समितितर्फका पदको मतगणनाका लागि भने नौ स्थानमा टोली परिचालन गरिएको छ।

त्यस्तै, आदिवासी जनजाति सहमहामन्त्री तथा सोही समूहका खुला र महिला केन्द्रीय सदस्यको मतगणना तीन स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा जारी छ।

पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना दुई स्थानमा भइरहेको निर्वाचन समितिले जनाएको छ।

मतगणना उम्मेदवार वा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा सुरक्षा व्यवस्थासहित शान्तिपूर्ण रूपमा भइरहेको छ। निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको सदस्यसचिव कटुवालले बताए।

यसपटक अघिल्लो महाधिवेशनको तुलनामा मतदाताको सङ्ख्या दोब्बरभन्दा बढी, करिब सात हजार पुगेकाले मतगणना व्यवस्थापनमा थप समय लागे पनि परिणाम सार्वजनिक गर्न धेरै दिन नलाग्ने उनको भनाइ छ।

१४औँ महाधिवेशनमा करिब तीन हजार मतदाता हुँदा अन्तिम परिणाम आउन १२ दिन लागेको स्मरण गराउँदै कटुवालले यसपटक व्यवस्थित रूपमा धेरै स्थानमा गणना भइरहेकाले तुलनात्मक रूपमा छिटो नतिजा आउने अपेक्षा गरिएको बताए।