
काठमाडौं — नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब सबै नेता तथा कार्यकर्ता पार्टीलाई आगामी निर्वाचनमा सफल बनाउने अभियानमा जुट्नुपर्ने बताएका हुन्। उनले पार्टीभित्रको प्रतिस्पर्धालाई लिएर विभाजित भइरहनुभन्दा संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिए।
आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई पराजित मानसिकताबाट बाहिर निकाल्नुपर्ने उनको भनाइ छ। गत २१ फागुनको निर्वाचनमा प्राप्त परिणामबाट पाठ सिकेर कांग्रेसले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने उनले बताए।
खड्गीले क्रियाशील सदस्यदेखि वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई नागरिकका आवश्यकता र भावनाअनुसार काम गर्न आग्रह गरे। जनताको विश्वास पुनः आर्जन गर्न पार्टीका सबै तह सक्रिय हुनुपर्ने उनले उल्लेख गरे।
महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता पनि खड्गीले व्यक्त गरे। नेतृत्वले समेत महाधिवेशनमा पराजित भएका नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने उनको सुझाव छ। विजयी र पराजित दुवै पक्षलाई साथमा लिएर अघि बढे मात्रै पार्टी बलियो बन्ने उनले बताए।
पार्टीभित्र फरक समूहमा रहेका कारण एकअर्काको सार्वजनिक आलोचना गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिँदै खड्गीले आपसी आरोप–प्रत्यारोपले जनतामा कांग्रेसप्रति नकारात्मक सन्देश जाने बताए।
राजनीतिक दलभित्र विचार र समूहगत मतभिन्नता हुन सक्ने भए पनि महाधिवेशनपछि त्यसलाई विभाजनको आधार बनाउन नहुने उनको धारणा छ। पार्टीभित्रको गुटबन्दी अन्त्य गरी संस्थागत संस्कार र सहकार्यको वातावरण निर्माण गर्न आफूले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।









Facebook Comments