काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणनामा खुला समूहबाट रामहरि खतिवडा र अजय सिवाकोटीले अग्रता लिएका छन्। २ हजार ३ सय ९० मत गणना हुँदा खतिवडाले १ हजार ७५ र सिवाकोटीले ७ सय ७७ मत प्राप्त गरेका छन्।

खुलातर्फ दुई सहमहामन्त्री पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। गणनाअनुसार डिल्लीराज सुवेदीले ५ सय ८३, देवेन्द्रराज कँडेलले ४ सय ९९, विकास कोइरालाले ३ सय ९४ र राजीव ढुंगानाले ३ सय ५३ मत पाएका छन्।

ad

त्यस्तै, रमेशप्रसाद धमलाले २ सय ८२, अमृतकुमार अर्यालले २ सय ५७ र विमलराज क्षेत्रीले ९३ मत प्राप्त गरेका छन्।

महिला सहमहामन्त्री पदमा प्रतिमा गौतमले अग्रता कायम गरेकी छन्। उनले १ हजार ४ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नानू वास्तोलाले ४ सय २० मत पाएकी छन्।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना पनि जारी छ। सभापति, उपसभापति र महामन्त्री पदको मतगणना भने सम्पन्न भइसकेको छ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेकाले हालको अग्रतालाई नै अन्तिम नतिजा मान्न सकिने अवस्था छैन।