
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। शनिबार बिहान सम्पन्न मतगणनाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएका थिए।
सभापतिमा थापाको निर्वाचित हुनुलाई कांग्रेसभित्र नेतृत्व परिवर्तनको घटनाका रूपमा हेरिएको छ। तर, पार्टीको सर्वोच्च जिम्मेवारीमा पुग्नु र पार्टीलाई अपेक्षाअनुसार रूपान्तरण गर्नु फरक विषय हुन्। अब थापासामु संगठनलाई एकताबद्ध बनाउने, पुरानो कार्यशैली बदल्ने, जनताका मुद्दामा परिणाम दिने र कांग्रेसप्रति घटेको विश्वास पुनःस्थापित गर्ने चुनौती छ।
२०४६ सालको जनआन्दोलनका बेला कक्षा ९ मा पढ्दै राजनीतिक आन्दोलनमा सहभागी भएका थापा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका नेता हुन्। लामो राजनीतिक यात्रापछि पार्टीको नेतृत्वमा पुगेका उनले अब आफ्नो राजनीतिक प्रतिबद्धतालाई संगठनको व्यवहार र कार्यसम्पादनमा कसरी उतार्छन् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।
कांग्रेसका नेता किशोरसिंह राठोरका अनुसार नेतृत्वमा नयाँ पुस्ताको आगमन मात्रै पार्टी रूपान्तरणका लागि पर्याप्त हुँदैन। संगठनको सोच, काम गर्ने तरिका र नेताहरूको जीवनशैलीमै परिवर्तन आवश्यक छ।
उनका अनुसार महाधिवेशनमा सहभागी सात हजारभन्दा बढी प्रतिनिधिलाई निर्वाचनमा मतदान गर्ने भूमिकामा मात्रै सीमित नराखी आफ्नो वडामा फर्केर जनताका समस्या सुन्ने र पार्टीसँग जोड्ने काममा लगाउनुपर्छ। ‘पद लिँदैमा वडा जिताउने हैसियत हुँदैन, त्यसका लागि काम गर्नुपर्छ,’ राठोरले भने, ‘महाधिवेशन प्रतिनिधिहरू फर्केर आफ्नो वडामा जनताले के चाहिरहेका छन् भन्ने कुरा सुन्नु अहिलेको ठूलो चुनौती हो।’
राठोरको भनाइमा कांग्रेसले विगतमा नागरिकलाई अधिकार दिलाउन, विकास र शान्ति स्थापनामा योगदान पुर्याएको भए पनि सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा कमजोरी देखिएको छ। अहिलेको पुस्ताले राजनीतिक भाषण र आश्वासनभन्दा प्रत्यक्ष परिणाम खोजिरहेको उनको विश्लेषण छ।‘राजनीति पाउनका लागि होइन, दिनका लागि गर्नुपर्छ,’ उनले भने।
उनले पार्टीभित्र सभापतिदेखि क्रियाशील सदस्यसम्म सबैलाई निष्पक्ष व्यवहार गर्नुपर्ने आवश्यकता पनि औँल्याए। योगदानका आधारमा कार्यकर्ताको मूल्यांकन, सम्मान र अवसर सुनिश्चित गर्न सके मात्रै संगठनप्रति विश्वास बढ्ने उनको भनाइ छ।
सभापति निर्वाचनमा पराजित श्यामकृष्ण खड्गीले पनि थापासामु पार्टी एकता कायम गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। विशेष र नियमित महाधिवेशनका क्रममा देखिएका असमझदारी अन्त्य गर्दै सबै पक्षलाई पार्टीको मूलधारमा समेट्न उनले आग्रह गरेका छन्।
खड्गीका अनुसार सभापति अब आफूलाई मत दिने समूहको मात्रै नेता नभई सम्पूर्ण कांग्रेसको नेतृत्वकर्ता हुन्। फरक विचार राख्ने र निर्वाचनमा पराजित भएका पक्षले पनि पार्टीभित्र सम्मान र अपनत्व महसुस गर्न पाउनुपर्ने उनको भनाइ छ।
उनले प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्ध बिगार्ने माध्यम बनाउन नहुनेमा जोड दिएका छन्। पार्टीभित्र फरक मत हुनु स्वाभाविक भए पनि त्यसले संगठनात्मक एकतालाई कमजोर बनाउन नहुने उनको धारणा छ।
कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पनि थापालाई बधाई दिँदै पार्टीलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी आएको बताएका छन्। उनले परिवर्तनको अभियानमा इमानदार सहयात्रीका रूपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि नयाँ नेतृत्वसामु देशलाई गन्तव्यमा पुर्याउने चुनौती रहेको उल्लेख गरेका छन्। भिन्न मत र विचारलाई जोड्दै विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने उनको धारणा छ।
यी प्रतिक्रियाले कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै एकता र सहकार्यको अपेक्षा पनि रहेको देखाउँछन्। तर, असन्तुष्ट पक्षलाई व्यवहारमै समेट्ने, जिम्मेवारी बाँडफाँट गर्ने र पार्टीका निर्णयमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने काम नयाँ नेतृत्वका लागि सहज नहुन सक्छ।
पुराना नेतासँग सम्बन्ध र आन्तरिक लोकतन्त्रको परीक्षा
राजनीतिक विश्लेषक दामोदर खतिवडाले थापाको नेतृत्वको पहिलो प्राथमिकता पार्टीलाई एकताबद्ध राख्नु हुनुपर्ने बताएका छन्। उनका अनुसार पुराना नेताहरूलाई पूर्ण रूपमा बाहिरिने अवस्था आउन नदिई संवाद र सहमतिमार्फत अघि बढ्नु कांग्रेसकै हितमा हुन्छ।
शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला र शेखर कोइरालालगायत नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने उनको सुझाव छ।‘देशको राजनीतिलाई ठीक ढंगले अघि बढाउने हो भने दुईवटा कांग्रेस आवश्यक छैन। एउटै कांग्रेस भए हुन्छ,’ खतिवडाले भनेका छन्।
उनका अनुसार पार्टीभित्र गुट र फरक धार हुनु लोकतान्त्रिक प्रतिस्पर्धाको हिस्सा हुन सक्छ। तर, त्यसलाई व्यवस्थापन गर्न स्पष्ट विधि, निष्पक्ष निर्णय प्रक्रिया र साझा राजनीतिक मान्यता आवश्यक हुन्छ।
यसको अर्थ पार्टीभित्र मतभेद अन्त्य गर्नु मात्रै एकताको मापदण्ड होइन। फरक मत राख्ने नेताले पनि आफ्नो विचार प्रस्तुत गर्न पाउने, उम्मेदवार छनोट पारदर्शी हुने र संगठन सञ्चालन निश्चित विधिमा आधारित हुने वातावरण बनाउनुपर्ने चुनौती थापासामु छ।
राजनीतिक विश्लेषक मुमाराम खनालले कांग्रेसको तल्लो तहमा रहेको लोकतान्त्रिक अभ्यासलाई पार्टीको महत्वपूर्ण विशेषताका रूपमा व्याख्या गरेका छन्। उनको विचारमा कांग्रेसले खुला समाज र उदार लोकतन्त्रको पक्षमा आफ्नो भूमिका कायम राख्नुपर्छ।
उनले आफू कांग्रेसको सदस्य नभए पनि पार्टीको लोकतान्त्रिक चरित्रका कारण कांग्रेसप्रति राजनीतिक आकर्षण रहेको बताएका छन्। उनको यो विश्लेषणले नेतृत्व परिवर्तनसँगै पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिनुपर्ने विषयलाई पनि महत्व दिएको छ।
थापाका लागि चुनौती पार्टीको आन्तरिक व्यवस्थापनमा मात्रै सीमित छैन। राष्ट्रिय राजनीतिमा कांग्रेसले कस्तो भूमिका निर्वाह गर्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुनेछ।
विश्लेषक खतिवडाका अनुसार कांग्रेसले सरकारका कामको निगरानी गर्दै जनताका समस्या प्रभावकारी रूपमा उठाउन सक्नुपर्छ। महँगी, ग्यास आपूर्ति, बाढीपहिरोपीडितको अवस्था, भूमिहीनका समस्या र वैदेशिक पलायनजस्ता विषयमा नागरिकका गुनासा सम्बोधन गर्न प्रतिपक्षले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
सरकारका निर्णय र कार्यशैलीमाथि प्रश्न उठाउनु मात्रै प्रतिपक्षको दायित्व नभई विकल्पसहित जनताका मुद्दा प्रस्तुत गर्नु पनि आवश्यक हुन्छ। त्यसैले थापाले संसदीय भूमिका, सार्वजनिक बहस र संगठनात्मक परिचालनलाई कसरी समन्वय गर्छन् भन्ने विषयले कांग्रेसको राजनीतिक प्रभाव निर्धारण गर्नेछ।
यसका साथै पार्टीले विगतमा गरेका निर्णय र कमजोरीको समीक्षा गर्दै भविष्यका लागि स्पष्ट राजनीतिक कार्ययोजना बनाउनुपर्ने देखिन्छ। नेतृत्व परिवर्तनलाई व्यक्तिको आगमनमा सीमित नराखी नीति, संगठन र कार्यसम्पादनमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता नेताहरूले समेत औँल्याएका छन्।
सभापति बनेपछि थापाले कांग्रेसको राजनीतिक संस्कार, कार्यशैली र जिम्मेवारीबोधमा व्यापक परिवर्तन ल्याउने संकेत गरेका छन्। उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनी शासनप्रतिको प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अब यी प्रतिबद्धताको परीक्षण पार्टीभित्रको निर्णय प्रक्रिया, नेताहरूको जवाफदेहिता र सार्वजनिक जीवनमा कांग्रेसले अपनाउने व्यवहारबाट हुनेछ।
भ्रष्टाचारका विषयमा आफ्ना र अरू पक्षलाई फरक मापदण्ड नलगाउने, पार्टीभित्र जिम्मेवारीअनुसार जवाफ माग्ने र सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणबारे स्पष्ट नीति अपनाउने विषयले नयाँ नेतृत्वको विश्वसनीयता निर्धारण गर्नेछ।
त्यस्तै, पार्टी छाडेका नेता, कार्यकर्ता तथा कांग्रेसबाट टाढिएका शुभेच्छुकलाई पुनः जोड्न संगठनले कस्तो कार्यक्रम ल्याउँछ भन्ने प्रश्न पनि महत्वपूर्ण छ। संगठनको संरचना मात्रै विस्तार गरेर जनविश्वास पुनःस्थापित गर्न सम्भव नहुने भएकाले नागरिकका वास्तविक समस्यासँग जोडिने काम आवश्यक देखिन्छ।
आगामी स्थानीय तहको निर्वाचन कांग्रेसका लागि नयाँ नेतृत्वको संगठनात्मक क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर बन्न सक्छ। वडा तहसम्म संगठन सक्रिय बनाउने, स्थानीय मुद्दा पहिचान गर्ने र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने काममा थापाको नेतृत्व कति प्रभावकारी हुन्छ भन्ने त्यतिबेला देखिनेछ।
स्थानीय तहमा उम्मेदवार छनोटको प्रक्रिया, आन्तरिक प्रतिस्पर्धाको व्यवस्थापन र निर्वाचनका क्रममा पार्टीका विभिन्न समूहलाई परिचालन गर्ने क्षमताले पनि नेतृत्वको कार्यशैली स्पष्ट पार्नेछ।
कांग्रेसले आफू बदलिएको दाबी गर्नु र नागरिकले परिवर्तन अनुभूत गर्नु एउटै कुरा होइन। संगठनभित्र निष्पक्षता, सार्वजनिक जीवनमा जवाफदेहिता र जनताका समस्यामा परिणाममुखी काम देखिए मात्रै नेतृत्व परिवर्तनको प्रभाव मापन गर्न सकिनेछ।
गगनकुमार थापाको सभापतिमा निर्वाचित हुनुले कांग्रेसभित्र नेतृत्व परिवर्तनको नयाँ अध्याय सुरु गरेको छ। तर, उनको सफलताको मापन निर्वाचनमा प्राप्त मत वा पुस्तान्तरणको नाराबाट मात्रै हुने छैन।
पार्टीलाई एकताबद्ध राख्ने, असन्तुष्ट पक्षलाई सम्मानपूर्वक समेट्ने, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कार्यान्वयन गर्ने र राष्ट्रिय मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्ने कामले उनको नेतृत्वको दिशा तय गर्नेछ।
अन्ततः कांग्रेस बदलिएको प्रमाण पार्टीको नेतृत्वमा नयाँ अनुहार देखिनु मात्रै होइन, पार्टीको व्यवहार, निर्णय प्रक्रिया र नागरिकसँगको सम्बन्धमा देखिने परिवर्तन हुनेछ। थापाले यी चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने कुरा आगामी दिनका निर्णय र कामबाट स्पष्ट हुँदै जानेछ।









Facebook Comments