काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले वडा र पालिका तहमा पार्टी नेतृत्व पुनर्गठन गर्ने भएको छ। पार्टीले आगामी मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने मिति तय गरेको छ।

भदौको पहिलो साता सम्पन्न पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले निर्धारण गरेका कार्यभार कार्यान्वयन गर्ने क्रममा अधिवेशनको मिति तय गरिएको हो। सङ्गठन सुदृढीकरण, जनपरिचालन र स्थानीय तहमा पार्टीको उपस्थिति प्रभावकारी बनाउने उद्देश्यले एमालेले तल्लो तहका कमिटीलाई सक्रिय बनाउन लागेको हो।

ad

एमालेका केन्द्रीय प्रचार प्रमुख निरज आचार्यका अनुसार वडा र पालिका तहमा नेतृत्व पुनर्गठनसँगै प्रदेश तथा जिल्ला तहका नेता र जनप्रतिनिधिलाई समन्वयात्मक रूपमा परिचालन गर्ने पार्टीको योजना छ। यसबाट सङ्गठनलाई थप व्यवस्थित र सक्रिय बनाउने लक्ष्य राखिएको उनले बताए।

एमालेले पार्टीका राजनीतिक धारणा र सन्देश जनतामाझ पुर्‍याउन प्रत्यक्ष संवाद तथा घरदैलो अभियानलाई प्राथमिकता दिने भएको छ। स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै जनताका समस्या र गुनासा बुझ्ने तथा पार्टीका गतिविधिलाई नागरिकसँग जोड्ने रणनीति अघि सारिएको हो।

यसका साथै २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको वास्तविकता, लोकतान्त्रिक प्रक्रियामा परेको प्रभाव, निर्वाचनको वातावरण र पार्टीमाथि लागेका आरोपबारे पनि एमालेले समीक्षा गरिरहेको आचार्यले बताए। पार्टीका आफ्नै कमजोरी पहिचान गरी सुधारका उपाय खोज्ने विषयलाई समेत छलफलमा समेटिएको उनको भनाइ छ।

एमालेले चाडपर्वको समयमा नागरिकले भोग्ने आर्थिक तथा सामाजिक समस्यालाई पार्टीको दैनिक राजनीतिक कार्यसूचीमा समेट्नुपर्नेमा जोड दिएको छ।

बजारमा बढ्दो महँगी, बेरोजगारी, किसानले उत्पादनको उचित मूल्य नपाउने समस्या, मजदुरको श्रम र पारिश्रमिक, साना उद्यमीमाथिको करभार तथा विद्यार्थीको भविष्यजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने पार्टीको धारणा छ।

त्यस्तै, शिक्षकका समस्या, स्वास्थ्योपचारमा बढ्दो खर्च, महिला सुरक्षा, सुकुमबासीको आवास, सीमावर्ती क्षेत्रका नागरिकको सम्मान र प्रवासी नेपालीले भोगिरहेका समस्यालाई पनि राजनीतिक छलफलको विषय बनाइएको छ।

स्थानीय तहको निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउन सङ्गठन विस्तारसँगै जनताका दैनिक समस्यामा केन्द्रित हुनुपर्ने एमालेको निष्कर्ष देखिन्छ।

यसैबीच, एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। तीन दिनदेखि चलिरहेको बैठक शनिबार पनि बस्ने कार्यक्रम रहेको छ।

बैठकमा पार्टीको सङ्गठनात्मक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी कार्ययोजनासम्बन्धी विषयमा छलफल भइरहेको छ। वडा तथा पालिका अधिवेशनको तयारी र जनपरिचालनसम्बन्धी योजनाले पनि स्थानीय निर्वाचन लक्षित पार्टी गतिविधिलाई दिशा दिने अपेक्षा गरिएको छ।