
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना सम्पन्न हुन अझै पाँचदेखि सात दिन लाग्न सक्ने अनुमान गरिएको छ। धेरै पद, समावेशी समूह र उम्मेदवारको सङ्ख्या ठूलो भएकाले मतगणना लम्बिने देखिएको हो।
केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनाबारे जानकारी दिँदै आधिकारिक समयसीमा तोक्न नसकिए पनि परिणाम आउन थप पाँचदेखि सात दिन लाग्न सक्ने बताए।
उनका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना भोलिसम्म सक्ने लक्ष्य राखिएको छ। सहमहामन्त्री पदको मतगणनाका लागि पनि आवश्यक तयारी भइरहेको उनले जानकारी दिए।
‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा धेरै क्लस्टर राखिएका छन्। त्यसले मतगणनामा समय लागेको हो। आधिकारिक रूपमा यति नै दिन लाग्छ भन्न सकिने अवस्था छैन, तर पाँचदेखि सात दिन लाग्ने देखिन्छ,’ पराजुलीले भने।
२३ वटा मतपत्र, खुला केन्द्रीय सदस्यमा कडा प्रतिस्पर्धा
पराजुलीका अनुसार कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिदेखि विभिन्न पदाधिकारी र समावेशी समूहका पदका लागि २३ वटा मतपत्र प्रयोग गरिएको छ। धेरै प्रकारका मतपत्र छुट्याउने, मिलाउने र गणना गर्ने कामले प्रक्रिया थप समय लाग्ने भएको हो।
खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि ८९ भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेकाले पनि मतगणनाको काम चुनौतीपूर्ण बनेको उनले बताए।
यसपटक ३५ वर्षमुनिका युवा अर्थात् जेनजी पुस्ता तथा पेसागत विज्ञ समूहलाई समेत प्रतिनिधित्व गराइएको निर्वाचन प्रक्रियाका कारण विभिन्न समूहको मत छुट्याएर गणना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
मतगणना छिटो सक्न थप जनशक्ति परिचालन गरिने
सभापति पदको मतगणना निर्वाचन भएकै दिन सम्पन्न गरी परिणाम सार्वजनिक गरिएको थियो। त्यसपछि प्राविधिक तयारी र मुचुल्कालगायतका प्रक्रियाका कारण अन्य पदाधिकारीको मतगणना सुरु गर्न केही समय लागेको पराजुलीले बताए।
हाल उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। मतगणनाको गति बढाउन थप जनशक्ति परिचालन गर्ने र मतगणना स्थलको सङ्ख्या बढाउने तयारीसमेत भइरहेको उनले जानकारी दिए।
आवश्यक व्यवस्थापन मिलाएर रातभरि पनि मतगणना गर्ने योजना रहेको उनको भनाइ छ। यसबाट परिणाम सार्वजनिक गर्न लाग्ने समय घटाउने निर्वाचन समितिको अपेक्षा छ।
दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट घर फर्किनेको सङ्ख्या बढ्न थालेको छ। यस्तो अवस्थामा उम्मेदवार, प्रतिनिधि र सर्वसाधारणलाई निर्वाचनको परिणाम छिटो उपलब्ध गराउन मतगणनाको गति बढाउन लागिएको पराजुलीले बताए।
उनले मतगणनामा भइरहेको ढिलाइलाई बुझिदिन आग्रह गर्दै परिणाम सार्वजनिक नभएसम्म धैर्य गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई अनुरोध गरेका छन्।
मतगणना सम्पन्न गर्न थप केही दिन लाग्न सक्ने अनुमान गरिए पनि निर्वाचन समितिले जनशक्ति र व्यवस्थापन बढाएर प्रक्रिया छिटो टुंग्याउने प्रयास गरिरहेको छ।









Facebook Comments