
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्यका केही पदको मतगणना सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ पौने ६ बजेदेखि मतगणना अघि बढाइएको हो।
सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदका लागि मतगणना सुरु गरिएको सहमहामन्त्री (खुला) पदकी उम्मेदवार प्रतिमा गौतमले जानकारी दिइन्। उनका अनुसार यी पदको मतपत्र नम्बर ३ को गणना सुरु भएको हो।
मतपत्र छाँट्ने क्रममा करिब ७०० मत हराएको भन्दै विवाद उत्पन्न भएपछि गणना प्रक्रिया प्रभावित भएको थियो। उक्त मत फेला परेपछि मतपत्र छाँट्ने काम पूरा गरी गणना अघि बढाइएको गौतमले बताइन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि गत २३ असोजमा निर्वाचन भएको थियो। निर्वाचनपछि पार्टी कार्यालय सानेपामा मतगणना जारी छ।
यसअघि उपसभापति र महामन्त्री पदको मतगणना पनि भइरहेको छ। विभिन्न पदको परिणाम सार्वजनिक हुने क्रमसँगै कांग्रेसको नयाँ नेतृत्वमा को–को निर्वाचित हुनेछन् भन्ने चासो बढेको छ।









Facebook Comments