
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध जति प्रहार भए पनि पछि नहट्ने बताएका छन्। राजनीतिक जीवनमा अनेक चुनौती र आक्रमणको सामना गरेको उल्लेख गर्दै उनले बाँचुन्जेल आफ्नो विचार र राजनीतिक संघर्ष नछाड्ने बताएका हुन्।
आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले महाभारतका भीष्म पितामहको प्रसंग सुनाएर आफ्नो धारणा राखे।
उनले भीष्म पितामहलाई अर्जुनले बाण प्रहार गर्दा शरशय्यामा पुग्नुपरेको प्रसंग उल्लेख गर्दै आफू भने त्यति कमजोर नभएको बताए।‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बूढो भइसकेका थिए। म त्यति बूढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ ओलीले भने।
आफूनजिक आएर मित्रवत् व्यवहार गर्नेहरूले समेत धोका दिने गरेको उनको आरोप थियो। ‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो,’ उनले भने।
सम्बोधनका क्रममा ओलीले आफ्नो राजनीतिक जीवनको लामो यात्रा स्मरण गर्दै साढे पाँच दशकदेखि देश र जनताका लागि राजनीतिमा सक्रिय रहेको बताए। आगामी दिनमा पनि देशकै लागि काम गर्ने उनको भनाइ थियो।
उनले करिब ५७ वर्षअघि राजनीतिक आन्दोलनको पुनर्गठन, एकीकरण र क्रान्तिकारी अभियानमा आफू संलग्न भएको उल्लेख गरे। त्यतिबेला पञ्चायती व्यवस्था अन्त्य गर्ने, राजतन्त्र हटाउने र समाजवाद स्थापना गर्ने उद्देश्य राखिएको उनले बताए।‘म जिउँदो हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चायत फालिएको छ,’ ओलीले भने।
राजनीतिक संघर्षका क्रममा विगतमा पनि राज्यबाट आफूले विभिन्न आरोप र मुद्दाको सामना गर्नुपरेको उनले सुनाए। अहिले मात्रै आफूलाई दोषी ठहर गर्ने प्रयास भएको भन्ने बुझाइ गलत हुने उनको भनाइ थियो।‘राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन नि, त्यतिबेला पनि ज्यानमारा भनेको थियो,’ उनले भने।
ओलीले आफ्नो जीवन र भविष्यप्रति चिन्ता नरहेको बताउँदै राजनीतिक संघर्षबाट पछि नहट्ने धारणा राखे। आफूले व्यक्तिगत स्वार्थका लागि नभई देशका लागि काम गरेको उनको दाबी थियो।‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुन्जेलसम्म बैरीसँग झुकिँदैन,’ उनले भने।
आफूलाई मृत्युको डर नभएको उल्लेख गर्दै ओलीले आफ्नो जीवन देशका लागि समर्पित गरेको बताए।‘मलाई चिन्ता छैन, मलाई के हुन्छ भन्ने कुराको कुनै चिन्ता छैन। किनभने, मैले मेरा लागि कामै गरेको होइन,’ उनले भने, ‘मरिन्छ, यो देशका लागि।’
कार्यकर्ता भेलामा ओलीले आफ्नो राजनीतिक यात्राका अनुभव सुनाउँदै चुनौतीहरूको सामना गरेर अघि बढ्ने सन्देश दिएका थिए।









Facebook Comments