
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरेपछि मतगणना अघि बढाएको हो।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारसँगको बैठक सकिएपछि मतगणना सुरु गरिएको हो।
मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन सानेपास्थित पार्टी कार्यालयका १४ वटा कोठामा सीसी क्यामेरा जडान गरिएको छ। कडा सुरक्षा व्यवस्थाबीच मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा सभापति पदको मतगणना भने यसअघि शुक्रबार राति नै सम्पन्न भएको थियो। सभापतिमा गगनकुमार थापा निर्वाचित भएका थिए। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्।
सभापतिको परिणाम सार्वजनिक भएसँगै अब कांग्रेसको पदाधिकारीमा उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतपरिणामप्रति चासो बढेको छ। यी पदको नतिजाले पार्टीको नयाँ नेतृत्वमा को–को समेटिन्छन् भन्ने टुंगो लगाउनेछ।
मतगणना जारी रहेकाले उपसभापति र महामन्त्री पदको अन्तिम परिणाम भने आउन बाँकी छ।









Facebook Comments