
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जना नयाँ सदस्य थप्दै पार्टीको संगठनात्मक गतिविधि अघि बढाउने निर्णय गरेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य मनोनयनसँगै राष्ट्रिय भेला तथा वडा र पालिका अधिवेशनको कार्यतालिका तय गरेको हो।
बैठकबाट केन्द्रीय सदस्यमा मनोनीत हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, डा. पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहेका छन्।
स्थायी कमिटी बैठकले आगामी मंसिरको पहिलो साता पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा विभिन्न तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्। भेलामार्फत पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा र तल्लो तहसम्मको गतिविधिबारे छलफल गर्ने तयारी छ।
बैठकले वडा र पालिका तहका अधिवेशनको मितिसमेत निर्धारण गरेको छ। निर्णयअनुसार आगामी मंसिर २६ गते वडा कमिटीका अधिवेशन सम्पन्न गरिनेछ भने पुस ४ गते गाउँपालिका तथा नगरपालिका तहका कमिटीहरूको अधिवेशन हुनेछ।
वडा र पालिका तहका अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। यससँगै एमालेले स्थानीय तहदेखि प्रदेशसम्मका संगठनात्मक गतिविधिलाई क्रमबद्ध रूपमा अघि बढाउने कार्ययोजना बनाएको छ।
तीन दिनसम्म चलेको स्थायी कमिटी बैठकले गरेका निर्णयले पार्टीभित्र केन्द्रीय नेतृत्वको विस्तार र संगठन पुनर्संरचनाको प्रक्रिया अघि बढाएको छ। अब राष्ट्रिय भेला तथा अधिवेशनहरू निर्धारित समयमा सम्पन्न गर्नु एमालेका लागि प्रमुख कार्यभार हुनेछ।










Facebook Comments