
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीको कार्यशैली, जवाफदेहिता र राजनीतिक संस्कारमा परिवर्तन गर्दै नागरिकको विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा आएको परिवर्तनलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताएका हुन्।
थापाले सभापतिको जिम्मेवारीलाई अधिकारका रूपमा नभई जवाफदेहिताका रूपमा लिएको स्पष्ट पारे। महाधिवेशनबाट प्राप्त विश्वासलाई पार्टीको आन्तरिक नेतृत्व परिवर्तनमा मात्र सीमित नराखी नागरिकको भरोसा फर्काउने अभियानमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार नेतृत्व चयन हुनु मात्रै पार्टी रूपान्तरणको पर्याप्त आधार होइन। पार्टीले काम गर्ने तरिका बदल्न, जिम्मेवारी स्पष्ट गर्न र आफ्नो निर्णयप्रति जवाफदेही बन्न आवश्यक छ।
‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने।
सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीप्रति आभार व्यक्त गर्दै थापाले लोकतान्त्रिक प्रतिस्पर्धालाई पार्टीको जीवन्त अभ्यासका रूपमा व्याख्या गरे। प्रतिस्पर्धामा सहभागी सबैलाई समेटेर अघि बढ्ने उल्लेख गर्दै उनले पार्टीभित्रको फरक मतलाई सहकार्यमा बदल्नुपर्ने सन्देश दिए।
थापाले कांग्रेस र नागरिकबीच विश्वासको दूरी बढेको स्वीकार गर्दै त्यसलाई हटाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। किसान, उद्योगी, व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्न सक्ने पार्टी निर्माण गर्ने उनको प्रतिबद्धता थियो। कांग्रेसका शुभेच्छुकलाई पुनः पार्टीसँग जोड्ने र घरघरमा कांग्रेसप्रति विश्वास जगाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
उनले भाषण र प्रतिबद्धताभन्दा कार्यशैलीमा देखिने परिवर्तनले पार्टीको भविष्य निर्धारण गर्ने बताए। विगतमा व्यक्तिगत स्वार्थका लागि पार्टीको उपयोग गर्ने प्रवृत्तिबाट मुक्त भएर सामाजिक लोकतन्त्रका मान्यताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।
जवाफदेहिताको विषयमा थापाले पार्टीले कुनै व्यक्तिको गल्ती ढाकछोप नगर्ने स्पष्ट पारे। कानुन सबैका लागि समान हुने उल्लेख गर्दै उनले गलत काम गर्ने व्यक्तिको बचाउमा कांग्रेस नउभिने बताए। ‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन। कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ उनले भने।
महाधिवेशनबाट पारित प्रतिवेदनहरूको अध्ययन र सुझाव संकलनका लागि एक साताको समय दिइएको जानकारी दिँदै थापाले त्यसपछि बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट आगामी कार्ययोजना तय गरिने बताए। यसबाट महाधिवेशनका निर्णयलाई कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो।
कांग्रेसको नयाँ नेतृत्वसामु पार्टीभित्रको एकता कायम राख्ने, संगठनलाई सक्रिय बनाउने र नागरिकसँगको सम्बन्ध सुधार्ने चुनौती छन्। थापाले व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयनमा कति प्रभावकारी हुन्छ भन्ने कुरा आगामी निर्णय, संगठन सञ्चालनको शैली र सार्वजनिक जवाफदेहिताबाट मापन हुनेछ।
उनले आफूलाई प्राप्त जिम्मेवारीको वास्तविक परीक्षा नागरिकको विश्वास फर्काउन सक्ने कामबाट हुने सन्देश दिएका छन्।









Facebook Comments