काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना आजै राष्ट्रिय सभागृहमा गरिने भएको छ। सभापतिको मतगणना सकिएर नतिजा सार्वजनिक भएपछि मात्रै अन्य पदको मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदमा खसेका मत राष्ट्रिय सभागृहमा गणना गरिनेछ। अन्य पदका मतपत्र भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिने तयारी गरिएको छ।

ad

कटुवालले सभापति पदको परिणाम सार्वजनिक भएपछि मात्रै अन्य पदको मतगणना प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

कांग्रेस सभापति पदका लागि गगन थापा र श्यामकृष्ण घिमिरे प्रतिस्पर्धामा छन्। दुवै उम्मेदवारको राजनीतिक भविष्य निर्धारण गर्ने सभापति पदको मतपरिणामलाई महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताले चासोका साथ हेरेका छन्।

सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सम्पन्न भएपछि सानेपामा लगिएका अन्य पदका मतपत्र गणना गरिने निर्वाचन समितिको तयारी छ।