काठमाडौं । वरिष्ठ नेता झलनाथ खनालले पार्टीका नेताहरूबाट अलग्गिएर समाजवादी जागरण अभियान सञ्चालन गरेपछि असन्तुष्ट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनीमाथि तत्काल कारबाही नगर्ने भएको छ। खनालको धारणा सुनेपछि मात्रै थप निर्णय लिने निष्कर्षमा पार्टी पुगेको हो।

शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालको अनुपस्थिति र उनले सञ्चालन गरिरहेको छुट्टै अभियानबारे छलफल भएको थियो। अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी खनालले गराएको बैठकमा बताइएको थियो।

ad

बैठकमा संयोजक पुष्पकमल दाहालले खनालसँग भएको संवादबारे जानकारी गराएका थिए। दाहालका अनुसार खनालले आफूले पार्टी नछाडेको र वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्यले समाजवादी जागरण अभियान सञ्चालन गरेको बताएका छन्।

पार्टीका एक नेताका अनुसार खनाललाई पहिले आफ्नो धारणा राख्ने अवसर दिने र त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने समझदारी बनेको छ। पार्टीबाट कारबाहीमा परेका हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेताहरूसँग मिलेर छुट्टै अभियान चलाएको विषयमा नेकपाभित्र असन्तुष्टि देखिएको छ।

खनालले भने आफ्नो अभियान पार्टीविरुद्ध लक्षित नभएको दाबी गर्दै आएका छन्। नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा उनले नेकपा एमाले छाड्नु आफ्नो ठूलो गल्ती भएको बताएका थिए। आफू बिरामी भएर भारतमा रहेका बेला नेकपाका सहसंयोजक माधवकुमार नेपालले गलत सूचना दिएका कारण पार्टी छाड्ने निर्णयमा पुगेको उनको दाबी थियो।

खनालले समाजवादी जागरण अभियानको उद्देश्य सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्नु रहेको बताएका छन्। तर, पार्टी नेतृत्वले भने उनको पछिल्लो गतिविधि र भूमिकाबारे स्पष्टता खोजेको छ।

यसअघि असोज ६ गते बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालले महाधिवेशनसम्बन्धी २२ बुँदे फरक प्रस्ताव प्रस्तुत गरेका थिए। पछिल्लो समय पार्टीको आधिकारिक गतिविधिभन्दा अलग देखिने उनको राजनीतिक सक्रियताले नेतृत्वसँगको सम्बन्धमा थप प्रश्न उठाएको छ।

कात्तिक ७ देखि नेकपाको राष्ट्रिय जागरण अभियान
यसैबीच, नेकपाले आगामी कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबारको बैठकले अभियानको कार्यविधि पारित गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलन गरी अभियानको औपचारिक उद्घाटन गरिनेछ। अभियानमा पार्टीको महाधिवेशन तयारी, सदस्यता नवीकरण, संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिनेछ।

त्यसैगरी स्थानीय तह र प्रदेश निर्वाचनको तयारीलाई प्राथमिकता दिने तथा सरकारका गलत गतिविधिविरुद्ध खबरदारी गर्ने नेकपाको योजना छ।

खनालको छुट्टै अभियान र नेकपाको आफ्नै राष्ट्रिय जागरण कार्यक्रम एकै समयमा अघि बढ्ने परिस्थितिले पार्टीभित्रको राजनीतिक समीकरणलाई थप चासोको विषय बनाएको छ। यद्यपि, खनालमाथि कारबाही गर्ने वा नगर्नेबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन। उनको धारणा सुनेपछि मात्रै यस विषयमा टुंगो लगाइने नेताहरूले बताएका छन्।