काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संगठन विस्तार र सुदृढीकरणसँगै महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

ad

बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक सुरुवात गरिने जानकारी दिए। उनका अनुसार अभियान सञ्चालनसम्बन्धी कार्यविधिसमेत बैठकले पारित गरेको छ।

प्रवक्ता ज्वालाका अनुसार अभियानको प्रमुख उद्देश्य पार्टीको आगामी महाधिवेशनको तयारी गर्नु हो। यस अवधिमा पार्टी सदस्यताको नवीकरण, संगठन विस्तार र पार्टीका संरचनालाई थप सुदृढ बनाउने काम गरिनेछ।

अभियानअन्तर्गत विभिन्न स्थानमा जनपरिचालनका कार्यक्रम, भेला तथा संगठनात्मक गतिविधि सञ्चालन गर्ने नेकपाको योजना छ। पार्टीलाई जनतामाझ थप सक्रिय बनाउँदै संगठनको अवस्था मजबुत पार्ने लक्ष्य पनि अभियानले लिएको छ।

यसका साथै सरकारले गरेका गलत काम तथा गतिविधिविरुद्ध जनस्तरबाट खबरदारी गर्ने नेकपाले जनाएको छ। प्रवक्ता ज्वालाले सरकारका गलत क्रियाकलाप र आफूहरूले फासिस्ट प्रवृत्तिका रूपमा व्याख्या गरेका गतिविधिविरुद्ध अभियानमार्फत आवाज उठाइने बताए।

दुई महिनासम्म सञ्चालन हुने अभियानलाई पार्टीको संगठनात्मक तयारी, जनसम्बन्ध विस्तार र राजनीतिक गतिविधि तीव्र बनाउने अवसरका रूपमा नेकपाले अघि बढाउन लागेको छ।