काठमाडौं । नेकपा एमालेका विभिन्न पार्टी कमिटीलाई पूर्णता दिने विषयमा नेताहरूबीच सहमति जुट्न नसक्दा स्थायी कमिटी बैठक लम्बिएको छ। बिहीबारदेखि जारी बैठक शुक्रबार पनि निष्कर्षमा पुग्न नसकेपछि शनिबार पुनः बस्ने गरी स्थगित गरिएको हो।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा पार्टीका विभिन्न कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। बैठक शनिबार दिउँसो १ बजे पुनः बस्ने तय भएको उनले जानकारी दिए।

ad

अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी, केन्द्रीय कमिटीसहित विभिन्न तहका कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका नामप्रति केही नेताहरूले असन्तुष्टि जनाएपछि निर्णय प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।

एक स्थायी कमिटी सदस्यका अनुसार प्रस्तावित नाममा सहमति कायम हुन नसकेपछि थप छलफल गरेर टुंगोमा पुग्ने उद्देश्यले बैठक स्थगित गरिएको हो।

एमालेले स्थायी कमिटी र पोलिटब्युरो गठन तथा केन्द्रीय सदस्यहरूको मनोनयनलगायत काम अझै टुंग्याउन बाँकी छ। त्यसैगरी पार्टीका विभिन्न विभाग र अन्य कमिटीलाई पनि पूर्णता दिनुपर्नेछ।

नेताहरूबीच देखिएको असहमतिका कारण रोकिएको कमिटी विस्तारसम्बन्धी विषयलाई शनिबारको बैठकले निष्कर्षमा पुर्‍याउने अपेक्षा गरिएको छ।